कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा सङ्कलन भएको पूजा अर्चना र दान रकम बाढी-पहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ।
शनिबार मन्दिरका दुवै दानपेटी खोल्दा सङ्कलन भएको कूल ३७ हजार ८ सय ८ रुपैयाँ सम्पूर्ण रकम रसुवाका विपद् पीडितको सहयोगार्थ कोषमा पठाउने निर्णय गरिएको हो।
मन्दिर व्यवस्थापन समितिका सचिव कपिल नेपालका अनुसार जन्माष्टमीका दिन शुक्रबार धार्मिक आस्था र भक्तिभावका साथै देशमा गएको विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। पूजा अर्चनाका क्रममा देशमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको सामूहिक कामनासमेत गरिएको थियो।
भक्तजनबाट सङ्कलन भएको दान-दक्षिणालाई विपद्को यो घडीमा सामाजिक उत्तरदायित्व मान्दै राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। बैंक खुल्ना साथ उक्त रकम जमा गरिने नेपालले बताए ।
