नेपालमा अस्पतालमा बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । प्रहरीको समन्वयमा मर्चरीमा राखिने यस्ता शव लामो समयसम्म पहिचान हुन नसक्दा उपचार तथा विभिन्न घटनाका मृतकको शव व्यवस्थापनमा समेत समस्या हुने गरेको हो । सम्बन्धित जिल्ला प्रहरी कार्यालयको पत्राचारपछि पहिचान नखुलेका शव अस्पतालका मर्चरीमा राख्ने गरिएको छ ।
नेपाल प्रहरीका तथ्यांक अनुसार गत साउन मसान्तसम्म देशभरका अस्पतालहरूमा शव ७ सय ८८ वटा पहिचान नखुलेका शवहरू राखिएका थिए । भोटेकोशी बाढीपरी पहिचान नखुलेका शवहरू राख्ने मर्चरी पर्याप्त नभएपछि तत्कालै त्यसलाई जमिनमा व्यवस्थापन भैरहेको छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार, रसुवा भोटेकोशी बाढीका कारण शनिबारसम्म १ हजार ३ सय ४४ शव फेला परेका छन् । जसमध्ये ९६ मात्रैको पहिचान खुलेको छ । पहिचान खुलेका शव अस्पतालमा राख्न सक्ने क्षमता नभएपछि शवको व्यवस्थापन जमिनमा नै हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार, आर्थिक बर्ष २०८२÷०८३ मा ६ वटा शव बेवारिसे फेला परेको जानकारी दिए ।
भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फरेन्सिक मेडिसिन डा. अरबिन शाक्यले अस्पतालमा लामो समय शव राख्न सीमित क्षमताका कारण समस्या हुने जानकारी दिए । उनले अस्पतालमा १० शव राख्ने दुई क्षमताका फ्रिज मध्य एउटा बिग्रिएकाले शव लामो समय राख्ने क्षमता नभएको बताए ।
भेरी अस्पताल नेपालगन्जमा विभिन्न घटनाका मृतकहरूको पोष्टमार्टमका लागि समेत लग्ने गरिएको छ । कतिपय मृत्युका घटनामा आफन्तले शव नबुझ्दा अस्पतालमा नै शव राख्नुपर्ने बाध्यता हुन्छ । ‘प्रहरीबाट पहिचान नखुलेका शव अस्पतालमा पठाइएपछि कानुन बमोजिमको प्रक्रिया पुरा गरेर त्यसको व्यवस्थापन हुने गरेको छ’, उनले भने ।
प्रहरीले पहिचान नखुलेको शव भेरी अस्पतालको मर्चरीमा राख्दै आएको छ । प्रहरीले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सूचना सार्वजनिक गरी शवको पहिचान र आफन्तको खोजी गर्ने प्रयास गर्छ । पहिचान खुलेपछि आवश्यक कानुनी प्रक्रिया र पोस्टमार्टम पूरा गरी शव आफन्तलाई बुझाइन्छ ।
तर पहिचान हुन नसकेका शव लामो समयसम्म मर्चरीमै रहँदा ठाउँको अभाव हुने गरेको छ । बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्रहरीको समन्वयमा स्थानीय तहबाट शव व्यवस्थापन गर्ने व्यवस्था छ ।
सम्बन्धित निकायबीच समन्वय बलियो बनाएर बेवारिसे शवको पहिचान, पोस्टमार्टम र अन्तिम व्यवस्थापनलाई समयमै टुंग्याउनुपर्ने आवश्यकता देखिएको छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०÷७१ देखि गत साउन मसान्तसम्म हालसम्म कुल १ हजार ६ सय ३४ वटा पहिचान नखुलेका शव फेला परेका थिए । जसमध्ये १ सय ३३ वटा शव पछि पहिचान भएर परिवारलाई बुझाइएको छ । ८४ वटा शव विभिन्न शिक्षण अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिएको छ भने ६ सय २९ वटा शव कानुनी प्रक्रिया पु¥याएर अन्त्येष्टि गरिएको छ । तर ७ सय ८८ वटा शव भने अझै पनि अस्पतालमा आफन्त कुरिरहेका छन् । जुन तथ्यांक रुसुवा बाढी घटना अघिको हो ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार पहिचान नभएका शवलाई १२ वर्षसम्म सुरक्षित राख्नुपर्छ । तर नेपालका अस्पतालहरूमा क्षमता सीमित भएकाले शव यत्रो समय राख्न कठिन छ ।
कुनै पनि स्थानमा पहिचान नखुलेको शव भेटिएको सूचना पाउनासाथ स्थानीय प्रहरीले त्यस्तो शवको उचित व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तह र वडा प्रतिनिधिलाई जानकारी गराउँछ । यसपछि पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ अनुसार स्थानीय तहको प्रतिनिधि र सम्भव भएसम्म स्थानीय नागरिकको रोहवरमा मुचुल्का उठाइन्छ । यसरी विभिन्न प्रकियापछि आफन्त पहिचान भएमा शव हस्तान्तरण गरिन्छ भने कोही नआएमा शवलाई नबिग्रने गरी विभिन्न अस्पतालमा राखिन्छ । अन्त्येष्टि गरिने शवको सम्पूर्ण विवरण अभिलेखीकरण गर्नुपर्ने हुन्छ । सर्वसाधारणले हेर्न मिल्ने गरी मृतकको फोटो र विवरण प्रहरीको अनलाइन पोर्टलमा समेत अपलोड हुन्छ । अध्ययनका लागि शिक्षण अस्पताल पठाइएका शवलाई भने पढाइ सकिएपछि सोही अस्पतालले नै अन्त्येष्टि गरी अभिलेख राख्नुपर्ने प्रावधान छ ।
‘बेवारिस शव आएमा ३०÷३५ दिन राखेर त्यसको प्रक्रिया पूरा गरी कानुनी प्रक्रिया अनुसार व्यवस्थापन हुन्छ, अस्पतालमा राखिंदैन’, भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फरेन्सिक मेडिसिन डा. शाक्यले भने ।
