कसैलाई दुःख पर्दा हामी दुःखी भएको देखाउँछौँ दुर्घटना हुँदा सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका अक्षर पोख्छौँ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का हृदयविदारक तस्बिर र भिडियो देखेपछि दुःख व्यक्त गर्छौँ । सोसल मिडियाका प्लेटफर्महरूका स्टाटसमा “हार्दिक समवेदना”, “भगवानले रक्षा गरून्”, “सहयोग गर्नुपर्छ” जस्ता शब्द सहजै लेख्छौ, के हामीले साँच्चिकै दुःख महसुस गरिरहेका छौँ कि केवल दुःख देखाइरहेका छौँ ?
आज सामाजिक सञ्जालले हामीलाई आफ्ना भावना तुरुन्तै सार्वजनिक गर्ने अवसर र मञ्च दिएको छ । विचार र संवेदना व्यक्त गर्ने यो माध्यम आफैंमा नराम्रो कुरा होइन । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब हाम्रो सहानुभूति केवल भर्चुअल पर्दामा देखाउनका लागि मात्र सीमित हुन्छ र वास्तविक जीवनमा त्यही संवेदना व्यवहारमा उतार्ने बेला हामी शून्यप्रायः बन्छौँ ।
सहानुभूति र समानुभूति
हामीले अक्सर ‘सहानुभूति र ‘समानुभूति लाई एउटै अर्थमा बुझ्ने गल्ती गरिरहेका छौँ, जबकि यी दुई बीच गहिरो र तात्विक भिन्नता छ । अरूलाई परेको दुःख देखेर बाहिरैबाट “मलाई दुःख लाग्यो” भन्नु वा दया भाव प्रकट गर्नु ‘सहानुभूति हो ।अर्को व्यक्तिको जुत्तामा आफ्नो खुट्टा राखेर, उसको ठाउँमा आफूलाई उभ्याएर उसको पीडाको गहिराइ बुझ्ने र आवश्यक पर्दा सहयोगका लागि स्वतःस्फूर्त अगाडि बढ्नु ‘समानुभूति हो ।
आजको समाजमा पहिलो कुरा अर्थात् देखावटी सहानुभूति व्यापक रूपमा देखिन्छ दोस्रो कुरा— अर्थात वास्तविक समानुभूति भने आधुनिकता र डिजिटल व्यस्ततासँगै विस्तारै कमजोर र क्षीण हुँदै गएको हो कि भन्ने गम्भीर आशङ्का पैदा भएको छ ।
डिजिटल संस्कृति
सामाजिक सञ्जालमा हाम्रा व्यवहार र विचारको विरोधाभास प्रशस्तै देख्न सकिन्छ । बिहान कुनै व्यक्तिले कुनै दुःखद् घटना वा विपद्मा निकै भावुक बनेर लामो स्टाटस लेखिरहेको हुन्छ । मानवता र समवेदनाका हुन्छ विडम्बना! त्यही व्यक्ति केही समयपछि अर्को व्यक्तिको कमेन्ट बक्समा गएर तुच्छ शब्दमा गालीगलौज र चरित्रहत्या गरिरहेको भेटिन्छ ।
बिहान मानवता र संवेदनशीलताको वकालत गर्ने मानिसले केही घण्टामै अरूको भावना, आत्मसम्मान र अस्तित्वमा गम्भीर चोट पुर्याइरहेको हुन्छ । यसले समाजमा एउटा जटिल प्रश्न जन्माउँछ— सहानुभूति प्रकट गर्ने बेला हाम्रो मानसिक अवस्था र विवेक कस्तो हुन्छ, अनि अरूलाई डिजिटल आक्रमण गर्ने बेला हाम्रो मानसिकता किन र कसरी बदलिन्छ ?
सायद हामीले भावनालाई पनि सामाजिक सञ्जालको सामग्री र रिच बढाउने माध्यमका रूपमा प्रयोग गर्न थालेका छौँ । दुःखद् घटना देख्दा क्षणिक रूपमा हामीलाई दुःख लाग्न पनि सक्छ, त्यो दुःख केही शब्द टाइप गरेपछि समाप्त हुन्छ । लाइक, कमेन्ट र सेयर पाएपछि हामीलाई आफ्नो सामाजिक र नैतिक जिम्मेवारी पूरा भएको भ्रम हुन्छ ।वास्तविक समानुभूति त त्यहाँबाट सुरु हुन्छ, जहाँ सामाजिक सञ्जालको पोस्ट सकिन्छ ।
क्यामेरा संस्कृतिको त्रासदी
हाम्रो समाजमा सडक दुर्घटना हुँदा देखिने दृश्यले हाम्रो खस्कँदो मानवीय संवेदनाको भयावह रूप उजागर गर्छ । सडकमा दर्दनाक दुर्घटना हुन्छ, घाइते मानिस रगतले लतपतिएर छटपटाइरहेको हुन्छ । वरिपरि मानिसको ठूलो भीड जम्मा हुन्छ । तर, दुःखको कुरा, धेरैको हातमा घाइतेलाई उठाउने वा बचाउने प्रयास हुँदैन; बरु स्मार्टफोनको क्यामेरा खुलिरहेको हुन्छ । कसैले भिडियो बनाउँछ, कसैले फोटो खिच्छ र केही मिनेटमै त्यो क्लिप सामाजिक सञ्जालमा भाइरल भइसकेको हुन्छ ।
घटनाको भिडियो हजारौँ मानिससम्म पुग्छ, सयौँले कमेन्टमा दुःख र आक्रोश व्यक्त गर्छन् । तर घटनास्थलमै सशरीर उपस्थित रहेका मानिसहरू भने घाइतेलाई तत्काल अस्पताल पुर्याउने, प्रहरीलाई खबर गर्ने वा परिवारलाई जानकारी गराउनेजस्तो आधारभूत मानवीय कर्तव्यबाट पन्छिन्छन् । हामीले दुःखको तस्बिर र भिडियो संसारभर बाँड्यौँ, तर दुःखमा छटपटाइरहेको मानिसलाई समातेर बचाउने हात अगाडि बढाएनौँ भने हाम्रो संवेदना कति वास्तविक रहन्छ ?
भोटेकोशी विपद्मा समानुभुती
हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले यस प्रश्नलाई अझ गम्भीर र टड्कारो बनाएको छ । बाढीले मानिसको जीवन, घरबार, बजार, सडक, पुल र कैयौँ पूर्वाधारहरू क्षणभरमै तहसनहस बनायो । घटनालगत्तै देशभरबाट दुःख व्यक्त भयो । सामाजिक सञ्जालमा पीडितका हृदयविदारक तस्बिर र भिडियो छाए । सहयोगको अपिल र सहानुभूति शब्दको बाढी नै आयो ।
प्रविधिमार्फत खबर फैलिनु र ध्यानाकर्षण हुनु सकारात्मक पक्ष हो ।विपद्को वास्तविक समुदायमा पुग्दा हामीले अर्को तीतो सत्य देख्नु पर्छ । सामाजिक सञ्जालमा देखिएको संवेदनाको विशाल मात्रा र वास्तविक धरातलमा आवश्यक परेको राहत तथा उद्धारबीच ठूलो दूरी र अन्तर विद्यमान छ ।
विपद्का बेला राहत र उद्धार कार्य केवल फोटो खिच्ने, भिडियो बनाउने वा फेसबुक स्टाटस लेख्ने विषय
होइन । त्यहाँ घाइतेलाई तत्काल उपचार चाहिन्छ, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र महिलाहरूलाई विशेष ध्यान र प्राथमिकता दिनुपर्ने हुन्छ । खासगरी महिलाहरूको उद्धार, स्वास्थ्य, गोपनीयता र सुरक्षाका लागि महिला उद्धारकर्ताको उपस्थिति अत्यन्त महत्त्वपूर्ण हुन्छ । पर्याप्त महिला उद्धारकर्ता नहुँदा कतिपय संवेदनशील अवस्थामा महिलाहरूले आफ्ना समस्या सहज रूपमा व्यक्त गर्न नसक्ने अवस्था सिर्जना हुन्छ ।
यसैगरी, उद्धारमा खटिएका व्यक्तिहरू वा प्रत्यक्षदर्शीहरू मोबाइलमा भिडियो बनाउन वा घटना रेकर्ड गर्नभन्दा पहिले आफ्नो अगाडि रहेको मानिसको अमूल्य जीवन बचाउने काममा केन्द्रित हुनुपर्छ । सर्वसाधारण नागरिकले पनि रमिता हेरेर भीड बढाउनुभन्दा एम्बुलेन्स र उद्धार टोलीका लागि बाटो खुला गर्ने, सही सूचना दिने, घाइतेलाई सहयोग गर्ने र उद्धारकर्ताको हात बलियो बनाउने भूमिका खेल्नुपर्छ ।
भ्रामक सूचना र नागरिक तथा राज्यको दायित्व
विपद्का बेला असत्य र भ्रामक सूचना फैलाउनु पनि गम्भीर संवेदनहीनताको उपज हो । अपुष्ट समाचार, पुराना भिडियो वा मनगढन्ते अनुमानलाई सत्यजस्तै बनाएर सामाजिक सञ्जालमा फैलाउँदा पीडित र उनका आफन्तमा ठूलो मानसिक आघात पुग्छ । त्यसैले विपद्को समयमा सही सूचना प्रवाह गर्नु, संयम अपनाउनु र जिम्मेवार बन्नु पनि समानुभूतिकै अभिन्न हिस्सा हुन् ।
विपद् व्यवस्थापनमा राज्यको जिम्मेवारी निसन्देह सबैभन्दा अग्रणी र ठूलो हुन्छ । खोज, उद्धार, निःशुल्क उपचार, तत्काल राहत, सुरक्षित आवास, खानेपानी, खाद्यान्न व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनासम्म राज्यले प्रभावकारी र अभिभावकीय भूमिका खेल्नैपर्छ । तर, सबै कुरा राज्यको मात्र जिम्मेवारी हो भनेर नागरिकहरू आफ्नो नैतिक कर्तव्यबाट पन्छिन मिल्दैन । विपद्का बेला छिमेकीले छिमेकीलाई र नागरिकले नागरिकलाई निसर्त सहयोग गर्ने हाम्रो परम्परागत सामाजिक संस्कारलाई जोगाउनु उत्तिकै आवश्यक छ ।
समानुभूति कुनै ठूलो भाषण वा आदर्शका कुरा गर्नाले मात्र देखिँदैन, यो त हाम्रा साना–साना दैनिक व्यवहारबाट सुरु हुन्छ । सडकमा घाइते देख्दा भिडियो खिच्नुभन्दा पहिले उद्धारको हात बढाउनु, कसैको दुःख र विपत्तिमा मजाक नगर्नु, सामाजिक सञ्जालमा असहमति हुँदा पनि सुसंस्कृत भाषा प्रयोग गर्नु, महिलाको पीडा र गोपनीयताको सम्मान गर्नु, गलत सूचना नफैलाउनु र परेको बेला आफ्नो क्षमताअनुसार व्यावहारिक सहयोग गर्नु नै वास्तविक समानुभूति हो ।
आज हामीसँग अरूको दुःख र वेदनालाई सेकेन्डमै संसारभर पुर्याउने अत्याधुनिक प्रविधि छ । तर वास्तविक चुनौती भनेको त्यो दुःखलाई प्रविधिको पर्दाबाट आफ्नै मन र मुटुसम्म पुर्याउने मानवीय क्षमता जोगाइराख्नु हो ।
हामीले आजै आफैंलाई एकपटक गम्भीर भएर सोधौँ— हामी कसैको दुःख देखेर केवल पोस्ट र सेयर गरिरहेका छौँ, कि दुःखमा परेको मानिसको ठाउँमा आफूलाई राखेर व्यवहारमा केही गरिरहेका छौँ? यस प्रश्नको इमानदार उत्तरले नै हाम्रो समाजमा समानुभूति अझै बाँकी छ कि केवल देखाउने संवेदना मात्र फैलिरहेको छ भन्ने कुराको फैसला गर्नेछ ।
