बालअधिकार संरक्षण अझै चुनौति

बालबालिका समाजको सबैभन्दा संवेदनशील साथै राष्ट्रको भावी नेतृत्वदायी भूमिका खेल्ने वर्ग हो । यिनीहरू युवा, प्रौढ र ज्येष्ठ नागरिकभन्दा फरक स्वभाव र आवश्यकताहरू भएका जनसंख्या समुह हुन । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । देशको कुल जनसंख्यामध्ये ३३.८ प्रतिशत बालबालिका रहेका छन् ।

सरकारले बालबालिकाहरूको हक, अधिकार, संरक्षण र सम्वद्र्धनका लागि बाल अधिकारसम्बन्धी महासन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरू, त्यसका ऐच्छिक प्रलेखहरू, घोषणापत्र तथा कार्ययोजनाहरूमा प्रतिवद्धता जनाएको छ । यस्ता महासन्धिहरूको व्यवहारिक कार्यान्वयनका लागि विभिन्न राष्ट्रिय तथा क्षेत्रीय एवम् स्थानीय स्तरका कार्यक्रमहरू, ऐननियमहरू निर्माण भए पनि व्यवहारिक कार्यान्वयनका लागि विभिन्न चुनौतीहरू देखापरेका पाइन्छ ।

बाँकेको जानकी गाउँपालिकाका किशोरकिशोरीहरूले बाल अधिकार संरक्षण अझै पनि चुनौतिपूर्ण रहेको बताएका छन् । आइतबार बाल अधिकार संरक्षणको सवालमा मिडियाकर्मीसँग साक्षात्कारमा उनीहरूले बालश्रम, शिक्षाको अधिकार सुनिश्चित हुन नसकेको तथा बालविवाह नियन्त्रण स्थानीय स्तरमा निकै चुनौतिपूर्ण रहेको बताएका छन् । बाल क्लबले गाउँपालिकाभित्र बालविवाह तथा लागुऔषध रोकथाम, सरसफाइ, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आए पनि ती गतिविधि स्थानीयस्तरमै सीमित भएकाले सञ्चारमाध्यम मार्फत बाहिर ल्याउनुपर्ने उनीहरूको भनाइ छ ।

सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा आयोजित कार्यक्रममा जानकी गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका बाल क्लबका पदाधिकारी तथा सदस्यले जन्मदर्तामा उमेर बढाएर तथा भारत लगेर पनि बालविवाह हुँदै आएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले किशोरहरूलाई अभिभावकले विद्यालय नपठाइ सानै उमेरमा काम लगाउने गरेको बताएका थिए । ‘बालविवाहको सूचना प्रहरी तथा सम्बन्धित निकायमा दिंदा पहिचान खुले किशोरकिशोरीकै सुरक्षाको चिन्ता हुन्छ’, किशोरकिशोरीले भने ।

जानकी गाउँपालिका स्तरिय बाल क्लबका अध्यक्ष इमरान भाटले बाल क्लबले बालअधिकारका सवालमा सचेतनामूलक कार्यक्रम योजना बनाएर सञ्चालन गर्दै आएको बताए । उनले बाल क्लबले बालविवाह रोकथाम, लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक नाटक तथा कार्यक्रम, सरसफाइ, शिक्षा र स्वास्थ्यसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।

‘बाल क्लबले गरेका गतिविधि पालिकाभित्रै सीमित भएका छन्’, अध्यक्ष भाटले भने, ‘अब पत्रकारहरूसँग समन्वय गरेर बाल क्लबका गतिविधि, उपलब्धि र बालबालिकाका समस्यालाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउने विषयमा हामी थप सक्रिय हुन्छौँ ।’ उनले बालअधिकारका सवाल राख्नका लागि पालिकाका विभिन्न समितिमा सहभागी भएर सुझाव समेत दिने गरेको बताए ।

अध्यक्ष भाटले आफुहरू विद्यार्थी भएकाले अध्ययनसँग विभिन्न कार्यक्रमको संयोजन गर्न चुनौति रहेको बताए । उनले बाल क्लबका कार्यक्रमहरू गर्दा आफुहरूको र पालिका, वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूको समय मिलाउन समस्या हुने गरेको सुनाए । ‘बालविवाह लगायतका सचेतनामूलक कार्यक्रम गर्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया पाउने गरेका छौं’, उनले भने ।

बाल क्लबका सल्लाहकार सन्तोष रानाले स्थानीय स्तरमा क्लब गठन गर्ने र बेवास्ता गर्ने गर्दा क्रियाशिल हुन नसक्ने गरेको बताए । ‘स्थानीय तह, वडा तथा संघ, संस्थाले बाल क्लब सक्रिय बनाइराख्न नियमित सहयोग गर्न आवश्यक छ’, उनले भने । ‘किशोरकिशोरीले गर्न खाजेका कार्यक्रमलाई व्यवस्थित ढंगले लागत सहितको बजेट माग गर्ने प्रक्रिया थाहा नहुँदा पनि चाहे अनुसारको कार्यक्रम गर्न समस्या छ’, उनले भने, ‘सचेतनामूलक कार्यक्रम गरेपछि त्यसको प्रभावकारिताको मूल्यांकन गर्ने व्यवस्था हुनुपर्छ ।’

बालक्लब जानकी गाउँपालिका वडा नं. १ की अध्यक्ष बिनकला ठकुरीले समाजको सचेतनाको स्तर परिवर्तनका लागि धेरै काम गर्नुपर्ने बताइन् । ‘अभिभावक अशिक्षित हुँदा बालबालिकालाई सानैमा बिहे गरिदिने, काममा लगाउने प्रवृत्ति छ’, उनले भनिन्, ‘दाइजो प्रथाको समस्या उस्तै छ, छोरीलाई बोझ सम्झने मानसिकता परिवर्तन गर्न आवश्यक छ ।’

बालक्लब जानकी गाउँपालिका वडा नं. ६ की अध्यक्ष पुनम मिश्रले बालविवाह गर्न हुँदैन भन्ने अभिभावकले नबुझ्ने भन्दा बुझाउन नसकिएको अवस्था रहेको बताइन् । ‘हामीले निरन्तर बाल विवाह विरुद्धको सचेतना फैलाइरह्यौं भने सोच परिवर्तन हुन्छ’, उनले भनिन् ।

सामाजिक विकास मञ्चका बाल संरक्षण अधिकृत जनक चौधरीले सहजीकरण गरेको कार्यक्रममा वल्र्ड भिजनका जिल्ला संयोजक तिलक केसीले परिवर्तन एकै पटक सम्भव नहुने भन्दै बिस्तार परिवर्तन भैरहेको बताए । उनले त्यसका लागि निरन्तर प्रयास गर्न आवश्यक रहेको बताए । ‘बालविवाह, बालबालिकाको शिक्षा लगायतका विषय बुझाउन सकिएन भनेर छाड्नु हुँदैन निरन्तर प्रयास गर्नुपर्छ’, उनले भने ।

कार्यक्रममा सहभागी पत्रकारहरूले पनि बाल क्लबले सञ्चालन गरेका सकारात्मक गतिविधि तथा बालबालिकाले भोगिरहेका समस्या र अधिकारका सवाललाई उजागर गर्न आफूहरू तयार रहेको बताएका छन् । पत्रकार कमल डाँगी, कुमार श्रेष्ठ चन्द्रेश्वर त्रिपाठी, भिष्म लोध, भगतराम थारू, देवेन्द्रराज पौडेल, जागेश्वर सिंह थारू र आशा परियारले बाल अधिकारका विषयलाई समाचारमा प्राथमिकता दिँदै बाल क्लबका गतिविधिलाई सञ्चारमाध्यममा ल्याउन सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

बालश्रम, बालबालिका ओसारपसार, बेचबिखन, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चितीजस्ता बाल अधिकार हनन्का घटनाबाट बालबालिका पीडित भएको इन्सेक बर्ष पुस्तक २०२५ मा उल्लेख छ । इन्सेकले सन् २०२५ मा देशभर बालअधिकार उल्लंघनका घटनामा राज्यपक्षबाट दुई जना र अन्य पक्षबाट १ हजार ७ सय ५६ जना पीडित भएको अभिलेख गरेका थियो । बलात्कारका घटनामा ९ सय ३६ जना बालिका पीडित भए । एकजना बालिकाको बलात्कारपछि हत्या भयो । सामूहिक बलात्कारका घटनामा ४९ जना र ६३ जना बालिका परिवारका सदस्यद्वारा बलात्कृत भए । यसैगरी, यौन दुव्र्यवहारका घटनामा ३ सय ५५ बालिका पीडित भए । साइबर स्पेश प्रयोग गरी २ सय ३ जना बालिकामाथि हिंसाका घटना भए । सन् २०२५ मा देशभर ६४ जना बालबालिका बेचबिखन तथा ओसारपसार घटनामा पीडित भएको अभिलेखिकरण गरेको छ ।

‘उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम छ । बालविवाहको एकीन तथ्यांक उपलब्ध छैन’, इन्सेकको मानवअधिकार बर्ष पुस्तक २०२५ का अनुसार, सन् २०२५ मा बालविवाहका घटनामा ४० जना बालवालिका पीडित भएका थिए । ‘प्रहरीसम्म उजुरी नआएका तथा सार्वजनिक नभएको सयौं घटनाहरू हुन सक्छन्’, बर्ष पुस्तकमा उल्लेख छ । गरिबी, अशिक्षा तथा यौन तथा प्रजनन् ज्ञानको अभावका स्वास्थ्यसम्बन्धमा कारण बालविवाहका घटना हुने गरेको धेरै जसो बालविवाहका घटना प्रहरीसम्म आइपुग्दैनन् ।

Exit mobile version