खेतीको तालिमसँगै ३ हजार फलफूलका बिरुवा वितरण
बाँकेको खजुरामा कृषकलाई कालो बेसार तथा फलफूल खेतीसम्बन्धी तालिम दिइनुका साथै ३ हजार फलफूलका बिरुवा वितरण गरिएको छ । खजुरा गाउँपालिका–१ र २ का करिब ५० जना कृषकलाई लक्षित गरी दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रम शनिबार सकिएको हो ।
कार्यक्रमअन्तर्गत कृषकलाई १ हजार ५ सय आँप र १ हजार ५ सय लिचीका बिरुवा उपलब्ध गराइएको छ । बिरुवासँगै प्राङ्गारिक मल, फरुवा, ट्रली, हँसिया र गम्बुटलगायतका कृषि सामग्री पनि वितरण गरिएको आयोजकले जनाएको छ ।
कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ स्थित शुक्र माध्यमिक विद्यालयको जग्गामा आँप र लिचीका बिरुवा रोपिएको छ । तालिम र बिरुवा वितरणसँगै गरिएको वृक्षरोपणले फलफूल खेती विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पारिवारिक निजी वन संघ नेपाल, जिल्ला शाखा बाँकेको आयोजनामा भदौ २० र २१ गते कार्यक्रम सञ्चालन गरिएको थियो । राष्ट्रिय कार्यकारी निकाय र आरआरएन–डीजीएम नेपाल परियोजनाअन्तर्गतको सहपरियोजनाका रूपमा कार्यक्रम आयोजना गरिएको हो ।
दुई दिने तालिममा खजुरा गाउँपालिका कृषि शाखा प्रमुख युवराज ढकालले कृषकलाई कालो बेसार खेतीको प्रविधिबारे जानकारी दिए । उनले यसको उत्पादन र बजार सम्भावनाबारे पनि प्रशिक्षण दिए । फलफूल खेतीमा प्रयोग भइरहेका आधुनिक प्रविधिका विषयमा समेत कृषकलाई जानकारी गराइएको थियो ।
ढकालले स्थानीय स्रोत–साधनको सदुपयोग गरेर व्यावसायिक तथा बहुवर्षीय फलफूल खेती गर्न सके कृषकको आयआर्जन बढाउन सकिने बताए । खेतीलाई परम्परागत अभ्यासमा मात्र सीमित नराखी उत्पादन र बजारसँग जोड्नुपर्नेमा उनले जोड दिए ।
खजुरा गाउँपालिका–१ का वडाध्यक्ष मानवीर क्षेत्रीले कृषकलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । उनले आरआरएन–डीजीएम नेपाल परियोजना र सहजीकरण संस्था पारिवारिक निजी वन संघ नेपाल, बाँके शाखालाई धन्यवाद दिए ।
आयोजकका अनुसार, कार्यक्रमले कृषकको कृषि ज्ञान र सीप बढाउन सहयोग गर्नेछ । उत्पादन क्षमता अभिवृद्धिसँगै स्थानीयस्तरमा व्यावसायिक कृषि विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट कृषकको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर सिर्जना गर्नसमेत सहयोग पुग्ने आयोजकको भनाइ छ ।
कार्यक्रममा पारिवारिक निजी वन संघ नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष पदम जिसी, केन्द्रीय सचिवालय सदस्य बलराम भट्टराई, खजुरा गाउँपालिका कृषि शाखा प्रमुख युवराज ढकाल, वडा नम्बर १ का वडाध्यक्ष मानवीर क्षेत्री र वडा नम्बर २ का वडाध्यक्ष धनराम ओलीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता पारिवारिक निजी वन संघ नेपाल, बाँके शाखाका अध्यक्ष सुनिल घिमिरेले गरेका थिए ।
