रोटरी क्लब अफ सेन्ट्रल बाँकेले जाजरकोटको भेरी नगरपालिका–२ रिसांगमा पहिरोबाट प्रभावित परिवारका लागि २ लाख ५९ हजार १७५ रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ । साउन ३० गते गएको पहिरोबाट प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले क्लबले सञ्चालन गरेको राहत अभियानमार्फत खाद्यान्नदेखि न्यानो कपडासम्मका सामग्री संकलन गरी वितरण गरिएको हो ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको नेतृत्वमा सञ्चालन भएको ‘जाजरकोट–रसुवा राहत कोष–२०२६’ अन्तर्गत राहत सामग्री जुटाइएको थियो । संकलित सामग्री प्रभावित परिवार र विद्यार्थीलाई लक्षित गरी वितरण गरिएको क्लबले जनाएको छ ।
राहत सामग्रीमा खाद्य सामग्रीसँगै विद्यालय झोला, न्यानो कपडाका सेट, कम्बल, दरी, झुल र बाल्टिनलगायतका सामग्री थिए । विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता र विद्यार्थीको शैक्षिक उपयोगलाई ध्यानमा राखेर सामग्रीको व्यवस्थापन गरिएको थियो ।
अभियानमा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रोटरी क्लब अफ सेन्ट्रल बाँके, स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बाँके र इन्टर्याक्ट क्लब अफ बागेश्वरी माविको सहयोग रहेको थियो । रोटरी परिवारसँगै स्थानीय समुदाय र सामाजिक अभियन्ताको सहकार्यले राहत संकलन र वितरणमा सहयोग पुगेको क्लबले जनाएको छ ।
रोटरियन लिडर सरोज रेग्मकिा अनुसार, विभिन्न संस्था तथा व्यक्तिबाट प्राप्त वस्तुगत सहयोग पनि राहत अभियानको महत्वपूर्ण हिस्सा बनेको थियो । खाद्यान्न, कपडा तथा अन्य आवश्यक सामग्रीका रूपमा प्राप्त सहयोगलाई एकीकृत गरी प्रभावित क्षेत्रसम्म पु¥याइएको थियो ।
राहत सामग्री संकलनदेखि व्यवस्थापन, ढुवानी र वितरणसम्मको काममा क्लबका पदाधिकारी तथा सदस्यहरू स्वयं सक्रिय भएका थिए । अध्यक्ष ईश्वरी जंग मल्ल, प्रेसिडेन्ट इलेक्ट बिमल कार्की, सरोज रेग्मी, मनीष मण्डल तथा प्रस्तावित सदस्य प्रेम प्रसाद चौलागाईंले स्वयंसेवकका रूपमा अभियानमा भूमिका निर्वाह गरेका थिए ।
राहत सामग्री ढुवानीका लागि मेरो टुकी प्रज्ञालयले यातायात सहयोग गरेको थियो । नेपालगन्ज भन्सार एजेन्ट संघसहित विभिन्न गैर–रोटेरियन सामाजिक अभियन्ताबाट पनि अभियानमा सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेले विपद्का बेला राहत सामग्री वितरणमा मात्र आफ्नो भूमिका सीमित नराख्ने जनाएको छ । प्रभावित समुदायको आवश्यकता पहिचान गर्दै आगामी दिनमा पनि मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने क्लबको प्रतिबद्धता छ ।
यसैबीच, क्लबले रसुवा विपद्बाट प्रभावित नागरिकका लागि १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । जाजरकोटमा गरिएको २ लाख ५९ हजार १७५ रुपैयाँ बराबरको सहयोग र रसुवाका लागि गरिएको १ लाख रुपैयाँ सहयोगको प्रतिबद्धताले विपद्का बेला मानवीय सेवामा क्लबको सक्रियता थप विस्तार भएको देखाएको छ ।
