केन्द्रले आफ्नो स्वार्थका लागि प्रदेशलाई अस्थिर बनाउन हुँदैन

           आदेशकुमार अग्रवाल

      लुम्बिनी प्रदेशसभा सदस्य, जसपा

तपाईं वा तपाईंको दलको आन्तरिक विवादका कारण अहिलेको प्रदेश सरकार संकटमा परेको हो ?

म एउटा कुरा स्पष्ट गर्न चाहन्छु । चेतनारायण आचार्यको नेतृत्वमा सरकार चलिरहेका बेला जसपा नेपालबाट दुईजना मन्त्री सरकारमा सहभागी थिए । पछि केन्द्रबाट चेतनारायण आचार्यलाई समर्थन नगर्न र विश्वासको मत फिर्ता लिन पत्राचार भयो । त्यो पत्राचार किन गरियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।केन्द्रको उद्देश्य चेतनारायण आचार्यको सरकार गिराएर अर्को सरकार बनाउने थियो कि मधेस प्रदेशसँग जोडिएको कुनै विषयमा बार्गेनिङ गर्ने थियो, त्यो स्पष्ट भएन । तर चलिरहेको सरकारलाई अल्पमतमा पारेर अस्थिरता निम्त्याउने केन्द्रको निर्णय हामीलाई उचित लागेन ।त्यसैले संसदीय दलका बहुमत सदस्यले छलफल गरेर चेतनारायण आचार्य नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय ग¥यौँ । उहाँकै सरकारले बजेट ल्याएको अवस्थामा त्यसको कार्यान्वयन पनि यही सरकारले गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

केन्द्रको पत्रपछि उत्पन्न अन्योलता कानुनी विषय हो कि राजनीतिक ?

म यस विषयको कानुनी विज्ञ होइन । तर मैले बुझेअनुसार प्रदेशसभामा संसदीय दल र संसदीय दलका नेताको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रो संसदीय दलका पाँचमध्ये चारजना सदस्य एक ठाउँमा छौँ र दलको नेताको साथमा छौँ ।पार्टीले कारबाही गर्ने कुरा गरिरहेको भए पनि त्यस्तो अवस्था आउँछ जस्तो मलाई लाग्दैन । यद्यपि यस विषयमा हामी विज्ञहरूसँग छलफल गरिरहेका छौँ ।

यस विवादको छायाँ प्रदेश सरकारमा पर्छ कि पर्दैन ?

छायाँ पर्छ जस्तो मलाई लाग्दैन। तर केन्द्रबाट भएको पत्राचारले अन्योल भने सिर्जना गरेको छ । त्यसैले केन्द्रले उक्त पत्र फिर्ता लिनुपर्छ । कुनै पनि हालतमा प्रदेशमा अस्थिरता निम्त्याउनु हुँदैन । केन्द्रले आफ्नो स्वार्थ र फाइदाका लागि प्रदेशलाई बलि चढाउनु हुँदैन भन्ने मेरो मान्यता हो ।

Exit mobile version