बाढी पीडितको सम्झनामा श्रद्धाञ्जली सभा

तिब्बतमा हिमताल फुटेर आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूप्रति सोमबार नेपालगन्जमा श्रद्धाञ्जली सभा आयोजना भएको छ।

भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट रसुवा, त्रिशूली, टिमुरे लगायतका स्थानमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपालगन्ज बाँकेको आयोजनामा उक्त कार्यक्रम भएको हो।

संस्थाकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य मीना कुमारी श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित सभामा पूर्व सञ्चारमन्त्री शिवराज जोशी, पूर्व संघीय सांसद दीपा शर्मा, कलेज अफ म्यानेजमेन्टकी प्राचार्य मुना हमाल, एम.पी. स्कुलकी प्राचार्य सन्ध्या गुप्ता, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी वली, कोषाध्यक्ष टीकामणी, वरिष्ठ पत्रकार पूर्णलाल चुके, झलक गैरे, उत्कृष्ट महिला रक्तदाता सरिता ज्ञवाली लगायत सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा शान्तिको दीप प्रज्ज्वलन र मौनधारण गरी दिवंगतहरूप्रति सम्मान प्रकट गर्दै शोकाकुल परिवारजनमा परमात्माले धैर्य, शक्ति र शान्ति प्रदान गरून् भन्ने कामना गरियो। साथै, प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भविष्यमा बालबालिका अभिभावकविहीन हुन नपरोस् र कसैले अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने भावनाका साथ मानव सेवामा सशक्त रूपमा लाग्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

“आँसुहरूलाई वर्तमानको सेवामा बदल्दै, सेवामय जीवनबाट भविष्यमा आशाको दीप बालिरहौँ” भन्ने सन्देशका साथ भएको सभाले पीडितमा आत्मबल जगाउने लक्ष्य राखेको छ भने संस्थाले प्रभावित क्षेत्रका लागि राहत संकलनसमेत गरिरहेको आयोजकले बताएका छन्।

Exit mobile version