३५ लाख रुपैयाँको स्मैकसहित महिला पक्राउ

भारतीय सीमावर्ती बजार रुपईडीहा नजिकैको ग्रामीण क्षेत्रमा ११६ ग्राम अवैध स्मैकसहित एक महिला पक्राउ परेकी छन् । रुपईडीहा प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोलीले दशहरा बाग क्षेत्रमा गरेको कारबाहीका क्रममा शकीला बीबीलाई पक्राउ गरेको हो । बरामद स्मैकको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ३५ लाख रुपैयाँ रहेको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाको साथबाट स्मैकसँगै भारतीय र नेपाली रुपैयाँ तथा मोबाइल फोनसमेत बरामद भएको छ । प्रहरीले २१ हजार २९ भारतीय रुपैयाँ र २३ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ । यस्तै, उनको साथबाट भिभो भी ६० मोबाइल फोन पनि फेला परेको छ ।

पक्राउ पर्नेमा दशहरा बाग, नयाँ बस्ती, थाना रुपईडीहा, जनपद बहराइचकी ४० वर्षीया शकीला बीबी रहेकी छन् । उनी मोहम्मद इस्लाम उर्फ लालबादशाहकी पत्नी हुन् । प्रहरी स्रोतका अनुसार, उक्त परिमाणको लागुऔषध नेपाल लैजाने कारोबारीका लागि थियो ।

रुपईडीहा प्रहरीका अनुसार, आइतवार राती मादक पदार्थ तस्करी नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानअन्तर्गत संयुक्त टोलीले दशहरा बाग क्षेत्रमा चेकजाँच गरिरहेको थियो । सोही क्रममा शंकास्पद गतिविधि गरिरहेकी एक महिलामाथि प्रहरीले निगरानी बढाएको थियो ।

सूचनाका आधारमा टोलीले दशहरा बाग क्षेत्रमा पुगेर महिलालाई नियन्त्रणमा लिएको थियो । महिला प्रहरीको सहयोगमा उनको खानतलासी गर्दा ११६ ग्राम अवैध स्मैक फेला परेको प्रहरीले जनाएको छ । त्यसपछि थप तलासी गर्दा भारतीय र नेपाली मुद्रा तथा मोबाइल फोनसमेत बरामद भएको थियो ।

रुपईडीहा प्रभारी निरीक्षक हरेंद्र कुमार मिश्रा नेतृत्वको प्रहरी टोली र एसएसबीको संयुक्त टोलीले कारबाही गरेको हो । प्रहरीका अनुसार सीमा क्षेत्रमा मादक पदार्थको तस्करी रोक्न नियमित निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ ।

बरामद स्मैकको अन्तर्राष्ट्रिय बजारमा अनुमानित मूल्य करिब ३५ लाख रुपैयाँ रहेको प्रहरीको भनाइ छ । बरामद लागुऔषध र अन्य सामानलाई नियन्त्रणमा लिएर प्रहरीले शकीला बीबीविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

उनविरुद्ध थाना रुपईडीहामा मुद्दा नम्बर २३७÷२०२६ दर्ता भएको छ । प्रहरीले लागुऔषध नियन्त्रणसम्बन्धी एनडीपीएस ऐनको धारा ८÷२१ अन्तर्गत अभियोग दर्ता गरेको जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई थप कारबाहीका लागि बहराइच अदालत पठाइएको प्रहरीले जनाएको छ ।

बहराइच प्रहरीका अनुसार, जनपदमा मादक पदार्थको तस्करी तथा आपराधिक गतिविधिविरुद्ध अभियान सञ्चालन भइरहेको छ । प्रहरी अधीक्षक विश्वजीत श्रीवास्तवको निर्देशनमा तथा अपर प्रहरी अधीक्षक ग्रामीण दुर्गा प्रसाद तिवारी र नानपारा क्षेत्राधिकारी चित्रांशु गौतमको पर्यवेक्षणमा रुपईडीहा प्रहरी र एसएसबीले संयुक्त रूपमा कारबाही गरेको हो । कारबाहीको नेतृत्व रुपईडीहा थाना प्रभारी निरीक्षक हरेंद्र कुमार मिश्रा ले गरेका थिए ।

Exit mobile version