विद्यालयमा स्व–संरक्षण सन्देश समेट्ने सहमति

विद्यालयमा बाल संरक्षणको अवस्थालाई थप प्रभावकारी बनाउने र बालबालिकाका लागि सुरक्षित तथा बालमैत्री वातावरण निर्माण गर्ने विषयमा बर्दियाको मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक गरिएको छ । बैठकले विद्यालयका नियमित शिक्षण तथा अन्य गतिविधिमा बाल संरक्षण र स्व–संरक्षणसम्बन्धी सन्देशलाई निरन्तर समेट्ने सहमति गरेको छ ।

बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सुरक्षा परियोजनाअन्तर्गत बैठक गरिएको हो । विद्यालयमा सञ्चालन भइरहेको स्व–संरक्षण सत्रको प्रगति, उपलब्धि र सिकाइको समीक्षा गर्दै कार्यान्वयनका क्रममा देखिएका चुनौती पहिचान गरिएको थियो । साथै विद्यालय तथा समुदायमा भइरहेका बाल संरक्षणसम्बन्धी अन्य प्रयासबारे पनि सहभागीबीच छलफल भएको थियो ।

बैठकमा राजापुर र मधुवन नगरपालिकाका विभिन्न विद्यालयका ४० जना प्रधानाध्यापक तथा शिक्षक सहभागी थिए । उनीहरूले स्व–संरक्षण सत्र सञ्चालनका क्रममा प्राप्त अनुभव साझा गरे । बालबालिकाको व्यक्तिगत सुरक्षा, सुरक्षित र असुरक्षित अवस्था, व्यक्तिगत सीमाना, आफ्ना कुरा खुलेर राख्ने तथा समस्या पर्दा सहयोग खोज्ने विषयमा सत्र प्रभावकारी देखिएको सहभागीले बताए ।

भेरी माध्यमिक विद्यालय राजापुरका प्रधानाध्यापक शिवप्रसाद कोइराला र शुक्र माध्यमिक विद्यालय मधुवनकी प्रधानाध्यापक एलिजा जिसीले विद्यालयमा सञ्चालन गरिएको स्व–संरक्षण सत्रले बालबालिकालाई आफ्नो सुरक्षाबारे सचेत बनाउन सहयोग पुगेको बताए । उनीहरूका अनुसार सत्रबाट बालबालिकाले सुरक्षित र असुरक्षित अवस्थाबीचको फरक बुझ्ने, व्यक्तिगत सीमाना कायम गर्ने, आफ्ना कुरा खुलेर राख्ने तथा जोखिम वा समस्या भएमा जानकारी गराउने विषयमा धेरै जानकारी पाएका छन् ।

बाल संरक्षणका सवालमा विद्यालयको भूमिका महत्वपूर्ण हुने विषयमा पनि बैठकमा जोड दिइएको थियो । मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले बालबालिकाको अधिकार र संरक्षणका लागि शिक्षक तथा विद्यालयले गरेको प्रयासको प्रशंसा गरे । विद्यालय बाल संरक्षणसम्बन्धी जोखिम तथा समस्या प्रारम्भिक चरणमै पहिचान गर्ने र बालबालिकालाई आवश्यक सहयोग सेवासँग जोड्ने महत्वपूर्ण स्थान भएको उनले बताए ।

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले शिक्षकको भूमिका कक्षाकोठामा पढाउने कार्यमा मात्र सीमित नरहेको बताए । बालबालिकाको व्यवहारमा आउने परिवर्तनलाई नजिकबाट नियाल्ने र हिंसा, दुव्र्यवहार, दुव्र्यवहारजन्य व्यवहार, हेपाइ, शोषण तथा अन्य जोखिमका संकेत पहिचान गर्ने पहिलो विश्वासिलो वयस्कका रूपमा शिक्षकको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

शिक्षकहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै भाटले सुरक्षा परियोजनामार्फत बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालले पु¥याउँदै आएको योगदानको पनि सराहना गरे । विद्यालयमा बाल संरक्षणको विषयलाई नियमित अभ्याससँग जोडेर लैजानुपर्नेमा उनले जोड दिए ।

बैठकमा विद्यालयस्तरमा बाल संरक्षणको वर्तमान अवस्था, स्व–संरक्षण सत्रको कार्यान्वयन र त्यसबाट देखिएका उपलब्धिबारे सहभागीले अनुभव आदानप्रदान गरेका थिए । राम्रो अभ्यासलाई अन्य विद्यालयमा समेत उपयोग गर्ने, कार्यान्वयनका क्रममा देखिएका चुनौतीको पहिचान गर्ने र आगामी दिनमा थप सुधारका उपाय खोज्ने विषयमा छलफल गरिएको थियो ।

विद्यालयमा बाल संरक्षणलाई थप सुदृढ बनाउँदै सुरक्षित, समावेशी, संरक्षणयुक्त र बालमैत्री सिकाइ वातावरण निर्माण गर्न विभिन्न कार्य अघि बढाउने निर्णय पनि बैठकले गरेको बाँके युनेस्को क्लबले जनाएको छ । त्यसका लागि विद्यालयका नियमित शिक्षण तथा अन्य गतिविधिमा बाल संरक्षण र स्व–संरक्षणसम्बन्धी सन्देशलाई निरन्तर समावेश गर्ने सहमति भएको क्लबले जनाएको छ ।

बैठकको सहजीकरण सुरक्षा परियोजनाका संयोजक ईश्वर बीकले गरे । उनलाई परियोजनाका कर्मचारी प्रमिशा थारु र सविता भाले सहयोग गरे । सहजीकरणका क्रममा खुला छलफलसँगै सहभागीका अनुभव आदानप्रदान, कार्यान्वयनका चुनौती पहिचान र आगामी कार्ययोजनाबारे सामूहिक छलफल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता बाँके युनेस्को क्लबका सहअध्यक्ष नीरज गौतमले गरेका थिए । मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट प्रमुख अतिथि थिए । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दिकी, सहअध्यक्ष सिराज खान, कार्यकारी निर्देशक रवि कुमार तुलाधर तथा मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनाललगायत सहभागी थिए ।

Exit mobile version