नेपालगन्जसँग जोडिएको भारतीय सीमावर्ती बजार रुपईडीहा क्षेत्रमा ५१ ग्राम अवैध स्मैकसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन मोहल्ला निवासी २४ वर्षीय चांद बाबु रहेका छन् । उनी इकबालका छोरा हुन् ।
स्थानीय पत्रकार सन्तोषकुमार शुक्लका अनुसार, प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोलीले उनलाई सोमबार राति पिलर नम्बर ६५१÷२ नजिकबाट पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको स्मैकको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १५ लाख रुपैयाँ रहेको जनाएको छ ।
प्रहरीले राति करिब १०ः४० बजे संयुक्त टोलीले सीमाक्षेत्रमा निगरानी गरिरहेका बेला चांद बाबुलाई नियन्त्रणमा लिएको जनाएको छ । उनको साथबाट ५१ ग्राम स्मैक बरामद भएको हो । लागूऔषधसहित पक्राउ परेका चांद बाबुमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
पक्राउका क्रममा प्रहरीले स्मैकसँगै टिभिएस अपाचे मोटरसाइकल पनि बरामद गरेको छ । त्यसैगरी उनको साथबाट भिभो मोबाइल फोन र २५० रुपैयाँ नगदसमेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चांद बाबुविरुद्ध लागूऔषध नियन्त्रणसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरिएको छ । उनीमाथि एनडिपिएस ऐनको धारा ८÷२१ अनुसार मुद्दा चलाइएको प्रहरीले जनाएको छ । मुद्दा दर्तापछि उनलाई अदालतमा पेस गरिएको छ ।
प्रभारी निरीक्षक हरेन्द्र कुमार मिश्रका अनुसार, पक्राउ परेका चांद बाबुविरुद्ध यसअघि पनि विभिन्न कसुरमा मुद्दा दर्ता भइसकेका छन् । उनका विरुद्ध चोरी, माल लुकाउने, ठगी र एनडिपिएस ऐनअन्तर्गतका मुद्दासहित विभिन्न मुद्दा रहेको मिश्रले बताए ।
सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरी र सशस्त्र सीमा बलले संयुक्त रूपमा निगरानी तथा कारबाही गर्दै आएका छन् । यही क्रममा सोमवार राति गरिएको कारबाहीमा ठूलो परिमाणको अवैध स्मैकसहित युवक पक्राउ परेको प्रहरीले जनाएको छ ।
कारबाही प्रहरी अधीक्षक विश्वजीत श्रीवास्तवको निर्देशनमा गरिएको थियो । प्रभारी निरीक्षक हरेन्द्र कुमार मिश्रको नेतृत्वमा रहेको संयुक्त टोलीले सीमाक्षेत्रमा कारबाही अघि बढाएको थियो ।
