राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक बैशाख–असारको कृषि उत्पादक मूल्य सूचकांकको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । कृषकले आफ्नो उब्जनी बजार वा संकलन केन्द्रमा बिक्री गर्दा खेत वा फार्मगेटमै पाउने मूल्यमा आएको परिवर्तन मापन गर्ने उक्त सूचकांक यस त्रैमासिकमा १८७.४३ विन्दुमा पुगेको छ ।
अघिल्लो वर्षको सोही त्रैमासिकमा १८३.६९ विन्दुमा रहेको सूचकांक यस वर्ष २.०४ प्रतिशतले बढेको हो । यद्यपि, उक्त वृद्धिदर विगत आठ वर्षकै सबैभन्दा कम हो । अघिल्लो आर्थिक वर्ष यही त्रैमासिकमा वृद्धिदर ३.०६ प्रतिशत थियो भने त्यसअघिका वर्षहरूमा वार्षिक वृद्धिदर औसतमा ५ देखि १० प्रतिशतसम्म रहेको थियो ।
कृषि उत्पादक मूल्य सूचकांकले उपभोक्ताले पसलमा तिर्ने मूल्य नभई कृषकले आफ्नो उत्पादन बिक्री गर्दा पाउने फार्मगेट मूल्य मापन गर्छ । कार्यालयका अनुसार सूचकांकको वृद्धिदरमा आएको कमीले कृषि उत्पादनको फार्मगेट मूल्यमा स्थिरता हुँदै गएको संकेत गर्छ । यसले समग्र खाद्य मुद्रास्फीति नियन्त्रणका दृष्टिकोणले सकारात्मक प्रभाव पार्न सक्ने भए पनि सबै कृषि वस्तुको मूल्यमा समान प्रवृत्ति भने देखिएको छैन ।
सबैभन्दा ठूलो भार रहेको अन्न बाली समूहको सूचकांक १९४.९९ बाट १९९.७९ विन्दुमा पुगेको छ । समूहको भार ३४.९ प्रतिशत रहेको छ । यसमा गहुँको भार २२.५५ प्रतिशत र धानको भार १२.०३ प्रतिशत रहेको छ । गहुँको मूल्य २.८२ प्रतिशतले बढ्दा धानको मूल्यवृद्धि १.५३ प्रतिशतमा सीमित भएको छ । जौ÷उवाको मूल्य ६.२३ प्रतिशतले बढे पनि यसको भार ०.३२ प्रतिशत मात्र रहेकाले समग्र समूहमा प्रभाव सीमित छ ।
दोस्रो ठूलो भार बोकेको कन्दमूल बाली समूहमा प्रतिनिधित्व गर्ने आलुको सूचकांक १६०.४५ बाट १६१.४४ विन्दुमा पुगेको छ । आलुको मूल्य ०.६२ प्रतिशतले मात्र बढेको छ । प्रशस्त उत्पादनका कारण आलुको मूल्यमा थप वृद्धि हुन नसकेको देखिन्छ । आलुको मूल्य औसत दरमा बढेको भए समग्र सूचकाङ्कको वृद्धिदर अझ उच्च हुनसक्ने देखिन्छ ।
फलफूल बाली समूहमा भने सबैभन्दा उच्च ७.०६ प्रतिशतको वृद्धि भएको छ । यसमा केरा को मूल्य एक वर्षमै १३.३१ प्रतिशतले बढेको छ । लिचीको मूल्य ८.१६ प्रतिशत र आँपको ३.८० प्रतिशतले बढेको छ । कागतीको मूल्य भने ०.९८ प्रतिशतले घटेको छ ।
तरकारी बाली समूहको मूल्य २.०५ प्रतिशतले बढेको छ । भिंडी÷रामतोरियाँको मूल्य ६.३७ प्रतिशत, इस्कुसको ५.४७ प्रतिशत र रायोको ४.१३ प्रतिशतले बढेको छ । भिंडेखुर्सानीको मूल्य २.८४ प्रतिशत र बोडीको १.०८ प्रतिशतले घटेको छ । तरकारीमा देखिएको यस्तो मिश्रित प्रवृत्तिले मौसमी आपूर्ति र स्थानीय उत्पादन चक्रको प्रभाव प्रतिबिम्बित गर्छ ।
कोसे÷दाल बाली समूहको मूल्य १.७० प्रतिशतले बढेको छ । केराउको मूल्य २.०८ प्रतिशत, मुसुरोको १.७० प्रतिशत र चनाको १.२९ प्रतिशतले बढेको छ । मसला बाली समूहमा १.५१ प्रतिशतको वृद्धि भएको छ । खुर्सानीको मूल्य ३.५१ प्रतिशत र लसुनको १.७८ प्रतिशतले बढ्दा प्याजको मूल्य ०.१८ प्रतिशतले घटेको छ ।
अन्य बालीअन्तर्गत चिया (हरियो पत्ती) को मूल्यमा ७.११ प्रतिशतको गिरावट आएको छ । यद्यपि यसको भार ०.००३ प्रतिशत मात्र रहेकाले समग्र सूचकांकमा यसको प्रभाव अत्यन्त न्यून रहेको छ । चिया उत्पादक क्षेत्रका कृषकका लागि भने यो महत्त्वपूर्ण संकेतका रूपमा देखिएको छ ।
पशुपन्छी तथा पशुजन्य समूहहरूमा समग्रमा न्यून तर सकारात्मक प्रवृत्ति देखिएको छ । पशुधन समूहको मूल्य २.११ प्रतिशतले बढेको छ । यसमा राँगा (मासुका लागि) को मूल्य ३.३२ प्रतिशत र सुँगुर÷बङ्गुरको २.५६ प्रतिशतले बढेको छ । खसी÷बोकाको मूल्य ०.७७ प्रतिशतले मात्र बढेको छ ।
दूध समूहको मूल्य १.४३ प्रतिशतले बढेको छ । यस समूहमा भैंसीको दूधको भार ९.०९ प्रतिशत रहेको छ । भैंसीको दूधको मूल्य १.३३ प्रतिशत र गाई÷चौँरीगाईको दूधको मूल्य १.७३ प्रतिशतले बढेको छ । अण्डाको मूल्य २.१४ प्रतिशत, माछाको १.३४ प्रतिशत र ब्रोइलर कुखुराको मूल्य ०.१० प्रतिशतले बढेको छ । ब्रोइलर कुखुराको मूल्य लगभग स्थिर रहनुले व्यावसायिक कुखुरापालन क्षेत्रमा स्थिर आपूर्तिको संकेत गरेको छ ।
नीतिगत दृष्टिले ठूला भार भएका अन्न र आलुमा फार्मगेट मूल्यवृद्धि दर उपभोक्ता मूल्य सूचकांक भन्दा कम रहनुले कृषकको आम्दानीमा दबाब देखाउन सक्ने कार्यालयको विश्लेषण छ ।
