नेपालसँगको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले लागूऔषध तस्करीविरुद्ध सुरक्षा निकायले ठूलो परिमाणमा अफिम बरामद गरेको छ । रुपईडीहा प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोलीले ट्रेभलर गाडीबाट ४ किलो ९१४ ग्राम अवैध अफिम बरामद गरेको हो ।
मंगलबार र बुधबारको मध्यराति करिब १२ बजे संयुक्त टोलीले रुपईडीहाबाट बहराइचतर्फ जाने सडकमा उक्त कारबाही गरेको थियो । जैतापुर मोड नजिकैबाट नानपारातर्फ जाँदै गरेको ट्रेभलर गाडी शंकास्पद देखिएपछि टोलीले रोकेर खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा गाडीभित्र ठूलो परिमाणमा अफिम भेटिएको प्रहरीले जनाएको छ । बरामद अफिम हिमाचल प्रदेशतर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
रुपईडीहा प्रभारी निरीक्षक हरेंद्र कुमार मिश्रका अनुसार, उनी रुपईडीहा सशस्त्र सीमा बल बीओपीका डेपुटी कमान्डेन्ट र जवानसहित क्षेत्रमा गस्तीमा थिए । ‘गस्तीका क्रममा जैतापुर मोड नजिकै ट्रेभलर गाडी नानपारातर्फ जाँदै गरेको देखियो । शंका लागेपछि गाडी रोकेर जाँच गर्दा अफिम बरामद भयो’, मिश्रले दैनिक नेपालगन्जसँग भने ।
गाडीबाट लागूऔषध भेटिएपछि प्रहरीले त्यसमा सवार व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको थियो । प्रहरीले यस घटनामा चार जनालाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा चट्टान बस्नेतकी पत्नी गीता खत्री पनि रहेकी छन् । उनी नेपाल जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–५ की निवासी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नेपालका बागमती प्रदेश निवासी देवेन्द्र बूढा पक्राउ परेका छन् । उनी श्रीधनबहादुर सिंहका छोरा हुन् र दारलिङ वार्ड नम्बर–४ का निवासी रहेको प्रहरीले जनाएको छ । हिमाचल प्रदेशको शिमला जिल्लास्थित नर्थ ओक, सञ्जौली निवासी टीकारामका छोरा राजकुमार पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, घटनामा संलग्न रहेको आशंकामा कुल चार जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संयुक्त टोलीले बरामद अफिम नियन्त्रणमा लिएर ट्रेभलर गाडीसमेत जफत गरेको छ ।
पक्राउ परेकाविरुद्ध लागूऔषधसम्बन्धी कानुन एनडीपीएस ऐनका सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी पक्राउ परेका सबैलाई बहराइच अदालतसमक्ष पेश गरिएको छ ।
भारत–नेपाल सीमा क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसारका घटना भइरहेका बेला भएको यो कारबाहीलाई तस्करीको सञ्जालविरुद्ध महत्वपूर्ण सफलता मानिएको छ । संयुक्त सुरक्षा टोलीको सक्रियताले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणको प्रयासलाई थप बल पुगेको प्रहरीको भनाइ छ ।
