उद्धार कोषमा नौ लाख रुपिया
विपद्मा परेका नागरिकको पीडामा साथ दिन एञ्जल्स स्कुल नेपालगन्जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका, बेपत्ता भएका, घाइते तथा प्रभावित परिवारको सहयोगका लागि विद्यालयले उक्त रकम प्रदान गरेको हो ।
विद्यालयले यो सहयोगलाई आर्थिक योगदानमा मात्रै सीमित नराखी मानवीय जिम्मेवारीको निरन्तरताका रूपमा लिएको जनाएको छ । अहिलेसम्म बाँकेमा शैक्षिक क्षेत्रबाट यति ठुलो रकम प्रधानमन्त्री कोषमा जम्मा गर्ने एन्जल्सनै पहिलो हो ।
‘विपद्का बेला पीडितको दुःखलाई आफ्नै दुःखका रूपमा बुझेर सहयोग गर्नुपर्ने मान्यताका साथ विद्यालयले विगतदेखि नै सामाजिक सेवाका काम गर्दै आएको छ,’ विद्यालयकी संस्थापक विना मल्लको भनाइ छ, ‘अरूको पीडा महसुस गर्न सक्ने संवेदना नै सहयोगको पहिलो आधार हो ।’
‘यही भावनाबाट प्रेरित भएर विद्यालयले शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कामको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ,’ विद्यालयका संस्थापक विना मल्लले ४७ वर्षअघि नेपालगन्जमा निजी क्षेत्रमा गुणस्तरीय शिक्षाको पर्याप्त व्यवस्था नभएको अवस्थामा विद्यालय स्थापना गरेको स्मरण गर्दै दैनिक नेपालगन्जसँग भनिन्, ‘शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नगरी सेवा र सामाजिक जिम्मेवारीसँग जोड्ने उनको सोच विद्यालयको स्थापनाकालदेखि नै अघि बढ्दै आएको छ ।’
विद्यालयका मुख्य प्रशासक पारिजात घोषका अनुसार, स्वामी विवेकानन्दका प्रेरणादायी विचारबाट समेत विद्यालयले आफ्नो सामाजिक सेवाको यात्रालाई प्रेरणा लिँदै आएको छ । विवेकानन्दको भनाइ उद्धृत गर्दै विद्यालयले भनेको छ, ‘मेरो भित्र जुन आगो जलिरहेछ, त्यही आगो तिम्रो भित्र पनि जलिउठोस् । उठ, जाग, त्यति बेलासम्म नअडिनु, जबसम्म लक्ष्यमा पुग्दैनौ ।’
त्यस्तै, गरिब, अज्ञानी तथा उत्पीडितप्रति सहानुभूति राख्नुपर्ने विवेकानन्दको विचारलाई विद्यालयले आफ्नो सामाजिक सेवाको आधारका रूपमा लिएको छ । विद्यालयले उल्लेख गरेको उनको अर्को भनाइ छ, ‘गरिब, अज्ञानी तथा उत्पीडितहरूका लागि सहानुभूतिको अनुभव गर, हृदयदेखि नै महसुस गर । तब तिमीमा अद्भुत शक्ति, मद्दत र अदम्य ऊर्जा आउनेछ ।’
‘एञ्जल्स स्कुलले विगतमा पनि विपद्मा परेका नागरिक तथा बालबालिकाका लागि प्रत्यक्ष सहयोग गर्दै आएको छ,’ मुख्य प्रशासक पारिजात घोषले दैनिक नेपालगन्जसँग भने ।
विसं २०५० सालमा सर्लाहीमा आएको भीषण बाढीका बेला विद्यालयकी संस्थापक मल्लले जिल्ला प्रशासनसँग समन्वय गरेर प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेकी थिइन् । त्यसक्रममा असहाय तथा अनाथ बालबालिकालाई नेपालगन्ज ल्याएरै उनीहरूको शिक्षा र जीवननिर्वाहको व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।
केही वर्षअघि राप्ती नदीमा आएको बाढीका कारण डुबानमा परेका असहाय गाउँवासीलाई पनि विद्यालय संस्थापक मल्ल स्वयं उपस्थित भएर राहत सामग्री वितरण गरेकी थिइन् । ‘प्राकृतिक विपत्ति वा अन्य कठिन परिस्थितिमा पीडित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कामलाई विद्यालयले निरन्तर सामाजिक दायित्वका रूपमा अघि बढाउँदै आएको छ,’ विद्यालयले भनेको छ ।
विद्यालयका अनुसार, शिक्षासँगै समाजसेवालाई अघि बढाउने यही अभ्यासले एञ्जल्स स्कुललाई पछिल्ला वर्षमा विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा जोड्दै आएको छ । विपद्का बेला तत्काल आवश्यक पर्ने सहयोग उपलब्ध गराउने र असहाय तथा पीडितका पक्षमा उभिने कामलाई विद्यालयले आफ्नो जिम्मेवारीका रूपमा लिँदै आएको छ ।
भोटेकोसी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको ९ लाख रुपैयाँको सहयोग पनि सोही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको विद्यालयले जनाएको छ ।
‘विद्यालयको यो सहयोगले बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति र करुणाको भावना अभिव्यक्त गर्नुका साथै विपद्को समयमा व्यक्ति, संस्था र समुदाय सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने सन्देश दिने विश्वास गरिएको छ,’ एञ्जल्स स्कुलले शिक्षा, सेवा र मानवीयताको यात्रालाई ४७ वर्षदेखि निरन्तरता दिँदै आएको जानकारी दिंदै संस्थापक मल्लले भनिन् ।
विसं २०३६ मा नेपालगन्जको घरबारी टोलमा स्थापना भएको विद्यालय न्यूरोडसँग जोडिँदै शान्तिमार्गसम्म फैलिएको छ । विद्यालयका अनुसार, स्वामी विवेकानन्दका विचारबाट प्रेरित हुँदै शिक्षाको क्षेत्रमा ४७ वर्ष पूरा गरेको एञ्जल्स स्कुल आफ्नो सामाजिक जिम्मेवारीलाई पनि निरन्तर अघि बढाउँदै आएको छ ।
