प्रतिस्पर्धामा उत्रिँदै २३० खेलाडी
नेपालगन्ज रंगशाला कभर्ड हलमा आज शनिबारदेखि जिल्ला स्तरीय अन्तरविद्यालय मेयर कप तथा बि–लेभल खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको हुने भएको छ । नेपालगन्ज ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगितामा विद्यालय तहदेखि खुला विधासम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
बाँकेबाट नयाँ ब्याडमिन्टन प्रतिभा उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा यु–१३ सिंगल्स छात्र–छात्रा, यु–१५ सिंगल्स छात्र–छात्रा र बि–लेभल खुला पुरुष डबल्सका इभेन्ट समावेश गरिएको छ । प्रतियोगिता भदौ २७ र २८ गते नेपालगन्ज रंगशालामा सञ्चालन हुनेछ ।
विद्यालयतर्फका चारवटै इभेन्टमा १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने आयोजकको अनुमान छ । त्यस्तै, बि–लेभल खुला पुरुष डबल्समा करिब ८० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसअनुसार प्रतियोगितामा करिब २३० खेलाडी सहभागी हुने अपेक्षा गरिएको आयोजकले बताएको छ ।
बि–लेभल खुला पुरुष डबल्समा बाँकेबाहेक विभिन्न जिल्लाका खेलाडीसमेत सहभागी हुने भएका छन् । आयोजकका अनुसार, बुटवल, भैरहवा, नवलपरासी, सुर्खेत, दैलेख, धनगढी, टीकापुर, पत्थरकोट, तौलिहवा, नवलपुर, दाङ र गुल्मीबाट खेलाडी नेपालगन्ज आउनेछन् ।
प्रतियोगिताको विद्यालयस्तरीय विधामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक नेपालगन्ज ब्याडमिन्टन क्लबका अध्यक्ष तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी अनिल लाखेले बताए । उनका अनुसार बि–लेभल खुला पुरुष डबल्सको विजेता टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता टिमले १५ हजार रुपैयाँ तथा तेस्रो र चौथो हुने टिमले समान ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
