विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य बढाउने प्रतिबद्धता

बाँके जिल्लाका स्थानीय तहहरूबीच विपद् व्यवस्थापनमा समन्वय र सहकार्य सुदृढ गर्ने उद्देश्यले आयोजित अन्तरपालिका समन्वय बैठकले विपद् व्यवस्थापनमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकले बाँकेका आठ स्थानीय तहले भदौ १० गतेको भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई स्थानीय विपद् व्यवस्थापन कोषबाट आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । बैठकले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनका लागि आठवटै स्थानीय तहबीच साझा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । आवश्यक उद्धार सामग्री पहिचान गरी संयुक्त रूपमा खरिद तथा भण्डारण गर्ने र आवश्यकता अनुसार तत्काल परिचालन गर्ने व्यवस्था मिलाइने भएको छ ।

बैठकमा जिल्लामा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । विपद्का समयमा स्थानीय तहहरूबीच आपसी समन्वय, सहकार्य तथा उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्ने विषयलाई बैठकले प्राथमिकतामा राखेको थियो ।

बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सात बुँदे साझा प्रतिबद्धता तथा कार्ययोजना समेत पारित गरेको छ । विपद्का समयमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गरी संयुक्त रूपमा विपद् व्यवस्थापनका कार्य अघि बढाउने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन् ।

बैठकले स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा अन्य सरोकारवाला निकायबीच सूचना आदान–प्रदान र समन्वयलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ । समुदायलाई विपद्को पहिलो प्रतिकार्यकर्ता बनाउने गरी उद्दार, प्राथमिक उपचार, पूर्वसूचना र सुरक्षित स्थानान्तरणसम्बन्धी तालिम सञ्चालन गर्ने विषयमा पनि जोड दिइएको छ ।

नरैनापुर गाउँपालिका, बाँकेको आयोजनामा भएको बैठकमा बाँके जिल्लाका सबै स्थानीय तहका नगर प्रमुख तथा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र विपद् सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसी लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

Exit mobile version