रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि नेपालगन्जस्थित ब्रिटिस इङ्लिस बोर्डिङ स्कुलले ५० हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयले आफ्नै तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी प्याब्सन बाँकेलाई चेक हस्तान्तरण गरेको हो ।
विद्यालयका प्रधानाध्यापक हेमन्तराज काफ्लेका अनुसार, बाढीपीडितका लागि विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकबाट रकम संकलन गरेको होइन । विद्यालयले आफ्नै स्रोतबाट सहयोग गरेको उनले बताए । ‘हामीले विद्यार्थी र शिक्षकबाट रकम उठाएका होइनौं, विद्यालयले आफ्नै तरिकाले यो दुःखको बेला सहयोग गरेको हो,’ काफ्लेले दैनिक नेपालगन्जसँग भने ।
विद्यालयले प्रदान गरेको ५० हजार रुपैयाँको चेक प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ । रसुवा बाढीबाट प्रभावित नागरिकको राहत र पुनस्र्थापनामा सहयोग पुग्ने अपेक्षासहित विद्यालयले रकम उपलब्ध गराएको हो ।
विपद्को कठिन अवस्थामा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको विद्यालयले जनाएको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्ने विद्यालय परिवारले अपेक्षा गरेको छ ।
