समय बित्दै जान्छ, वर्षहरू फेरिँदै जान्छन्, तर जीवनमा केही यस्ता घटनाहरू हुन्छन्, जसका सम्झनाहरू समयको कुनै सीमाले मेटाउन सक्दैनन्। ती सम्झनाहरू हृदयको कुनै कुनामा सधैँ जीवित रहन्छन्—कहिले आँसु बनेर, कहिले मौन पीडा बनेर अनि कहिले जीवनलाई नयाँ अर्थ दिने प्रेरणा बनेर।
वि.सं. २०३८ साल असोज १३ गते, घटस्थापनाको दिन, सानी बहिनीकाे भातख्वाई गर्ने दिन पनि थियो । त्यो दिन आज पनि मेरो स्मृतिमा उत्तिकै ताजा छ। वर्ष भरीकाे लागि हातमुख जाेर्ने आधार नैं खेत भएकोले मझुवा, मैनाबगर, बुटवलमा बस्नुपर्ने हाम्रो बाध्यता थियोे। दशैंको आगमनसँगै घर–घरमा उमङ्ग र उल्लासको वातावरण हुनुपर्ने समय थियो। तर हाम्रो परिवारका लागि त्यो दिन जीवनकै सबैभन्दा ठूलो वियोगको दिन बन्न पुग्यो।
अचानक आएको भीषण प्राकृतिक विपद्ले हाम्रो संसार नै उजाडिदियो। रातभरिकाे मुसलधारे पानी परेको थियो, दोभानमा पहाड खसेर तिनाउ नदी थुनियो। नदी तालमा परिणत भयो र केही समयपछि त्यो थुनिएको पानी एकाएक फुटेर आएको भयानक बाढीले मझुवा, मैनाबगर लगायतका गाउँ–बस्तीहरू तहसनहस बनायो। कतै भाग्ने ठाउँ थिएन, सिसाैंका स-साना रुखहरु हुर्किदै थिए, त्यसैकाे सहारामा हामी गाउँलेहरु उभिएका थियौं, घाँटी घाँटीसम्म पानीको बहाव आईसकेकाे थियोे, एकाएक बाढीले ठूलो मुढाे बगाएर ल्यायो, माथिल्लो पंक्तिमा रहेका हामीलाई साेहाेरेर लैजाँदा निस्किएको राेदन, चीत्कार, ईश्वरको पुकारकाे आवाज अझैसम्म तराेताजा भएर याे कानमा गुन्जिरहेकाे छ । सयौँ मानिसहरू बाढीमा परे । सायद पुर्वजन्ममा केही सत्कर्म गरेर हाेला हामी बाँच्न पुग्यौं । घर, परिवार, सम्पत्ति र सपनाहरू सबै पानीको भेलसँगै बगे।
त्यही भीषण बाढीले हाम्रो परिवार पनि बगायो। हाम्राे बुवा, आमा, भाइ र बहिनीहरू —हाम्रो परिवारका प्रिय सदस्यहरू हामीबाट सधैँका लागि टाढा भए। त्यो उमेरमा मृत्यु र वियोगको गहिराइ बुझ्ने सामर्थ्य त थिएन, तर आफ्नो संसार अचानक रित्तिएको अनुभूति भने अत्यन्त गहिरो थियो।
त्यो विपदबाट म र मेरी बहिनी मीना मात्रै बाँच्न सफल भयौँ। बाँच्नु पनि कहिलेकाहीँ एउटा ठूलो प्रश्नजस्तो हुँदो रहेछ—आफ्ना सबै गुमाएपछि बाँच्नुको अर्थ के हो? बालमनले त्यतिबेला यी प्रश्नहरूको उत्तर खोज्न सकेन। केवल अभिभावकविहीन भएको पीडा र भविष्यको अनिश्चितता मात्र थियो। त्यस प्राकृतिक विपदमा धेरै बालबालिकाले आफ्ना अभिभावक गुमाएका थिए। पुरै अभिभावक गुमाएका हामी जस्ता १८ जना टुहुरा–टुहुरी बालबालिकालाई अञ्चलाधीशकाे सिफारिसमा सरकारले काठमाडौं लगेर विभिन्न स्थान बाल मन्दिर, नक्शाल, बाल व्यवसायी केन्द्र, सिफल, समाज कल्याण केन्द्र, पाँचखाल, एस.ओ.एस. तथा वेदाश्रम, वनकालीमा राखी पालनपोषण र शिक्षाको व्यवस्था गरेको थियो। त्यसैक्रममा बहिनी नक्शालमा र म सिफलमा बसेर लालन पालन र अध्ययन शिक्षा ग्रहण गर्ने अवसर प्राप्त गर्याैं । त्यो समय हाम्रो जीवनले एउटा नयाँ मोड लियो। जन्म दिने बुवा–आमाको काख गुमेको थियो, तर समाज र राज्यले दिएको संरक्षणले जीवनलाई अगाडि बढाउने आधार प्रदान गर्यो।
आज यति लामो समयपछि जब फेरि कुनै ठूलो प्राकृतिक विपद्को समाचार सुन्दा याे मन अनायासै २०३८ साल असोज १३ गतेतिर फर्किएकाे छ।
हालै तिब्बततर्फको हिमताल फुटेर रसुवा, त्रिशूलीलगायत क्षेत्रमा आएको भीषण बाढी र प्राकृतिक विपद्का समाचारहरूले पुरानो घाउलाई फेरि सम्झाइदियाे। नदीको उर्लँदो भेल, बस्तीहरूमा परेको विपद् र मानिसहरूले भोग्नुपरेको पीडा, सयाैंकाे ज्यान गुमाएको घटनाले त्यो बाल्यकालको त्रासदीलाई फेरि आँखाअगाडि ल्याइदियो।
तर आज जीवनलाई पछाडि फर्केर हेर्दा एउटा अर्को अनुभूति पनि हुन्छ।
हामीले जन्म दिने बुवा–आमा गुमायौँ, तर जीवनले हामीलाई अनेकौँ बुवा–आमाको सेवा गर्ने अवसर दियो। समयको यात्रामा म र मेरी बहिनी मीना ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, नेपालसँग आबद्ध भयौँ। विगत ३६–३७ वर्षदेखि सामाजिक तथा ईश्वरीय सेवामा समर्पित भएर जीवन बिताउने अवसर प्राप्त भयो। आज हामीले आफूलाई अभिभावकविहीन बालबालिका मात्र ठान्दैनौँ। सेवा र आध्यात्मिक यात्राले हामीलाई एउटा गहिरो सत्य सिकाएको छ—माया र मातृत्व–पितृत्व केवल जन्मसँग मात्र जोडिएको हुँदैन, प्रेम र सेवाबाट पनि मानिसले परिवार पाउँदो रहेछ। हामीले आफ्ना बुवा–आमाको काख गुमायौँ, तर जीवनको यात्रामा अनेकौँ आमाहरूको माया पायौँ, अनेकौँ बुवाहरूको स्नेह र आशीर्वाद पायौँ। सेवाको क्रममा भेटिएका असंख्य आत्माहरूको प्रेमले हाम्रो जीवनलाई फेरि भरिदियो। कहिलेकाहीँ लाग्छ—यदि त्यो पीडादायी घटना हाम्रो जीवनमा नआएको भए, सायद जीवनलाई यसरी बुझ्ने अवसर पनि मिल्ने थिएन होला। विपद्ले हामीबाट धेरै कुरा खोस्यो, तर सेवाले जीवनको अर्थ दियो। बाढीले हाम्रो घर बगायो, तर समयले हाम्रो हृदयमा सेवाको घर बनाइदियो। बुवा–आमाको काख खोस्यो, तर समाजका असंख्य आमाबुवाको माया र आशीर्वाद प्रदान गर्यो।
आज पनि बुवा–आमा, भाइ–बहिनीहरू को सम्झना आउँदा मन भारी हुन्छ। आँखा रसाउँछन्। तर त्यससँगै मनमा एउटा सन्तोष पनि जाग्छ—हामीले आफ्नो जीवनलाई केवल व्यक्तिगत दुःखमा सीमित राखेनौँ; त्यस पीडालाई सेवाको शक्तिमा रूपान्तरण गर्ने प्रयास गर्यौँ।
त्यसैले आज अतीतलाई सम्झँदा म केवल त्यो बाढीलाई मात्रै हाेईन म सम्झन्छु —गुमाएको परिवार, पाएको संरक्षण, बितेका कठिन दिनहरू, अनि त्यसपछि सुरु भएको सेवामय जीवन। हाम्रो जीवनको त्यो अध्याय दुःखान्त थियो, तर त्यस दुःखान्तबाट निस्किएको जीवनयात्रा भने सेवा, प्रेम, आध्यात्मिकता र मानवताको सुन्दर यात्रामा परिणत भयो। आज पनि मनभित्र एउटा मौन प्रार्थना उठ्छ—
हे भाेलेनाथ परमात्मा !
जसरी हामीले आफ्ना प्रियजन गुमाउनुको पीडा भोग्यौँ, त्यसरी कुनै पनिबालबालिका ले अभिभावकविहीनताको पीडा भोग्न नपरोस्, कसैले धन जन गुमाउन नपराेस् । हामीलाई जीवनभर मानवताको सेवा गर्ने शक्ति प्रदान गरिरहनुहोस्।
प्राकृतिक विपदमा ज्यान गुमाउने सम्पूर्ण आत्माहरूप्रति चिर शान्तिको कामना अर्पण गर्दछौँ, समवेदना अर्पण गर्दछौं, घाइते जनहरुकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौं र हाम्रा बुवा–आमा भाई बहिनी जहाँ भए पनि, उहाँहरूको आत्माप्रति श्रद्धा र शान्तिको भावना अर्पण गर्दछौं । हामी दुई दाजु–बहिनीको जीवनमा प्राप्त भएका हरेक आमाबुवा लगायत अन्य दिदीबहिनी दाजुभाइ, मित्रहरु, सर, मेमहरुको माया, स्नेह र आशीर्वाद प्रति हृदयदेखि नै कृतज्ञता।
ॐ शान्ति।
