असोज ३ मा ८१ वटै वडामा अधिवेशन
नेपाली कांग्रेस बाँकेले १५औँ महाधिवेशनको प्रारम्भिक चरणका रूपमा हुने वडा अधिवेशनको तयारीलाई तीव्र बनाएको जनाएको छ । जिल्लाका ८१ वटै वडामा असोज ३ गते अधिवेशन गर्ने तयारी कांग्रेस बाँकेले गरेको हो ।
महाधिवेशनको तयारीकै क्रममा कांग्रेस बाँकेले शनिबार पार्टी कार्यालयमा जिल्लादेखि केन्द्रसम्मका प्रतिनिधि र विभिन्न तहमा जिम्मेवारी सम्हालिरहेका नेता तथा कार्यकर्तासँग छलफल गरेको छ । वडा अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी र जिम्मेवारीका विषयमा छलफल केन्द्रित रहेको कांग्रेस बाँकेले जनाएको छ ।
वडा अधिवेशनका लागि प्रत्येक वडामा निर्वाचन अधिकृत र प्रतिनिधि पठाउने विषयमा समेत तयारी भइरहेको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए । ‘नेपाली कांग्रेस बाँके १५औं केन्द्रीय महाधिवेशनको तयारीमा जुटिसकेको छ, सुरुआतमा वडाको अधिवेशन गर्नको लागि तयारी भएको छ । त्यसको छलफलको लागि हामीले पार्टीको विभिन्न जिम्मेवारीमा रहनु भएका नेताहरुलाई बोलाएर छलफल गरेर जानकारी गराएको छौं’, गौडेलले भने ।
उनका अनुसार, असोज ३ गते बाँकेका सबै ८१ वटै वडामा अधिवेशन हुनेछ । वडा अधिवेशन सफल बनाउन पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आवश्यक जिम्मेवारी र तयारीबारे जानकारी गराइएको उनले बताए ।
नेपाली कांग्रेसले देशभर असोज ३ र ४ गते स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । देशभर ६ हजार ७ सय ४३ वडामा अधिवेशन हुने कांग्रेसले जनाएको छ । वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।
कांग्रेसले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिकाअनुसार असोज ७ गते गाउँ तथा नगर अधिवेशन हुनेछ । असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि र सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ । त्यसपछि असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले महाधिवेशनको तयारीप्रति जिल्लाका नेता तथा कार्यकर्ता उत्साहित रहेको बताए । वडा अधिवेशनबाट सुरु हुने महाधिवेशन प्रक्रियालाई सफल बनाउन जिल्लाका नेता तथा कार्यकर्ता सक्रिय रूपमा अघि बढिरहेको उनको भनाइ छ ।
महाधिवेशनको तयारीबारे जिल्लाका नेता तथा कार्यकर्तालाई जानकारी गराउने र जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले शनिबारको छलफल आयोजना गरिएको कांग्रेस बाँकेले जनाएको छ। वडा अधिवेशन नजिकिँदै जाँदा जिल्लामा पार्टीको आन्तरिक गतिविधि पनि बढेको छ ।
