जनता समाजवादी पार्टी, नेपालले रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार मंगलबार पार्टीका महासचिवद्वय प्रकाश अधिकारी र डा. सुरेन्द्रकुमार झासहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग संकलन समितिका संयोजक एवं पार्टी सचिव शैलेन्द्रप्रसाद साह तथा सदस्यहरू वीरेन्द्र प्रधान, रमेशवावु श्रेष्ठ, पेशल ढकाल र भुवनेश्वर चौधरीसमेतको प्रतिनिधिमण्डलले चेक नं. ०१३५९१३३२४ मार्फत २१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको जसपाले जनाएको छ।
जसपाले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना सबैको साझा दायित्व भएको जनाएको छ। पार्टीले विपद्को यस घडीमा नेपाल सरकारको उद्धार, राहत तथा पुनर्स्थापना अभियानलाई समर्थन गर्दै देश–विदेशमा रहेका नेपाली तथा दातृ निकायलाई राहत अभियानमा सहभागी हुन अपिलसमेत गरेको छ।
पार्टीको कोषमार्फत मानवीय अभियानमा आर्थिक योगदान गर्ने विभिन्न तहका समिति तथा सहयोगीहरूप्रति पनि जसपाले धन्यवाद व्यक्त गरेको छ।
