सरकारले नेपालगन्जस्थित भेरी अस्पताल र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति गठनको प्रक्रिया अघि बढाएको छ । दुवै अस्पतालको विकास समिति गठनका लागि आव्हान गर्दा परेका निवेदनको आवश्यक छानविन गरी योग्य आवेदकको सर्ट लिस्टिङ गर्ने र उनीहरूबाट कार्ययोजना माग्ने तयारीसहित प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले माग गरेको औपचारिक निवेदनका आधारमा आवेदकको विवरण अध्ययन भइरहेको छ । आवेदन छानविनपछि सर्ट लिस्टमा परेकासँग कार्ययोजना पेश गर्न लगाउने गरी छनोट प्रक्रिया अघि बढाइएको हो । त्यसपछि सरकारको विधि र प्रक्रियाअनुसार विकास समितिका पदाधिकारी चयन हुनेछन् ।
भेरी अस्पताल विकास समितिको अध्यक्ष पदका लागि १३ जना दावेदार निवेदकको नामावली तयार भएको छ । अध्यक्ष पदका लागि अंकित कुमार सिंह, केशरी बहादुर रोकाय, रमेश केशर खनाल, समीर कुमार गुरुङ, डा. प्रतिक श्रेष्ठ, डा. डक्ट प्रसाद धिताल, लक्ष्मण सिग्देल, भीमकान्त लामिछाने, गणेश देवकोटा, रमेश घर्ति, कृष्ण देवकोटा, प्रदिप कुमार ओली र सत्यनारायण थारुको नाम परेको छ ।
त्यस्तै, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष पदका लागि उपलब्ध नामावलीमा अंकित श्रेष्ठ, डा. प्रतिक श्रेष्ठ, शिवाशिष गुप्ता, लक्ष्मण सिग्देल र भीमकान्त लामिछानेको नाम रहेको छ ।
त्यस्तै सदस्य पदका लागि कैलाश कुमार यादव, घनश्याम भट्ट, डा. मधु न्यौपाने, लिजा खोसिंग, साजन थापा, सञ्जय पाण्डे, जयपति ढकाल र तुलसी कुमारी विकले निवेदन दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले आवेदनमाथि आवश्यक छानविनपछि मात्र अर्को चरणको प्रक्रिया अघि बढाउने जनाएको छ । आवेदन दिएका सबैलाई स्वतः पदाधिकारी चयन हुने अवस्था नरहेको र निर्धारित विधि तथा प्रक्रियाबाट छनोट गरिने मन्त्रालयको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालगन्जका अध्यक्ष नविन खड्काले पनि छनोट प्रक्रिया सरकारले आफ्नै विधि र प्रक्रियाअनुसार अघि बढाउने बताए । उनले यस विषयमा पार्टीले राजनीतिक हस्तक्षेप नगर्ने दाबी गरे । ‘सरकारले आफ्नो विधि र प्रक्रियाबाट योग्य व्यक्ति छनोट गर्नेछ, कोही हाम्रो र पराया भन्ने छैन, यसमा राजनीति गर्ने हाम्रो नीति छैन,’ खड्काले निवेदक सूची हेर्दै दैनिक नेपालगन्जसँग भने ।
यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता तथा पार्टीका कतिपय सांसदले भने आवेदन दिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमिबारे जानकारी संकलन गरिरहेको सूचना सम्बद्ध स्रोतले दिएको छ । स्रोतका अनुसार, निवेदकहरूको दलीय पृष्ठभूमिबारे चासो राखेर विवरण संकलन भइरहेको छ । उक्त दाबीबारे सम्बन्धित पक्षको थप प्रतिक्रिया भने उपलब्ध छैन ।
भेरी अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल दुवैका विकास समिति गठन आदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका छन् । स्वास्थ्य मन्त्रालयले दुवै समितिमा पदाधिकारी छनोटको औपचारिक प्रक्रिया अघि बढाएको हो ।
