देशमा परेको विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को समयमा राहत तथा पुनःस्थापनाका लागि होटल पौवाले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा निजी क्षेत्रबाट प्राप्त हुने सहयोग महत्वपूर्ण हुने बताए।
होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूले समेत व्यक्तिगत रूपमा रकम संकलन गरी विपद्मा परेका नागरिकलाई सहयोग गरेका हुन्।
‘रकम ठूलो नभए पनि अहिले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला हाम्रो सानो सहयोगले पनि प्रभावित नागरिकका लागि केही राहत पुग्ने विश्वास गरेका छौँ,’ ज्ञवालीले भने।
होटल पौवाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ। संस्थाले यसअघि पनि विपद्, सामाजिक सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा सहयोग गर्दै आएको बताएको छ।
चेक हस्तान्तरण कार्यक्रममा होटल पौवाको सञ्चालक समितिका सबै सदस्यहरूको उपस्थिति रहेको थियो।
