भेरी अस्पताल विकास समिति अध्यक्षका लागि १० जनाको दावी

भेरी अस्पताल नेपालगन्जको विकास समिति अध्यक्ष चयनका लागि १० जना आवेदकको नाम सर्ट लिस्टमा परेको छ । स्वास्थ्य मन्त्रालयले विकास समिति गठन प्रक्रिया अघि बढाउँदै अध्यक्ष पदका लागि परेका निवेदनमाथि छानविन गरेपछि १० जनाको नाम छनोट गरेको हो ।

अध्यक्ष पदका लागि आवेदन दिएका १३ जनामध्ये अंकित कुमार सिंह, केशरी बहादुर रोकाय, रमेश केशर खनाल, समीर कुमार गुरुङ, डा. प्रतिक श्रेष्ठ, डा. डक्ट प्रसाद धिताल, लक्ष्मण सिग्देल, भीमकान्त लामिछाने, प्रदिप कुमार ओली र सत्यनारायण थारुको नाम सर्ट लिस्टमा परेको छ ।

अध्यक्ष पदका लागि आवेदन दिएका गणेश देवकोटा, रमेश घर्ति र कृष्ण देवकोटाको नाम भने सर्ट लिस्टमा परेको छैन । स्वास्थ्य मन्त्रालयले आवेदनमाथि आवश्यक छानविन गरी योग्य आवेदकको सूची तयार पारेको हो ।

सरकारले नेपालगन्जस्थित भेरी अस्पतालसँगै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको विकास समिति गठनको प्रक्रिया पनि अघि बढाएको छ । दुवै अस्पतालका विकास समिति गठनका लागि मन्त्रालयले यसअघि आवेदन माग गरेको थियो । क्यान्सरका निवेदकको नामको सर्ट लिष्ट यो समाचार तयार पारुन्जेल सार्वजनिक गरिएको छैन । क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष पदका लागि अंकित श्रेष्ठ, डा. प्रतिक श्रेष्ठ, शिवाशिष गुप्ता, लक्ष्मण सिग्देल र भीमकान्त लामिछानेको दावेदारी छ ।

मन्त्रालयले माग गरेको औपचारिक निवेदनका आधारमा आवेदकहरुको विवरण अध्ययन भइरहेको जनाएको छ । आवेदनको छानविनपछि सर्ट लिस्टमा परेका आवेदकसँग कार्ययोजना माग गर्ने तयारी छ । उनीहरुले पेश गर्ने कार्ययोजनासमेत छनोट प्रक्रियाको आधार बन्नेछ ।

कार्ययोजना प्राप्त भएपछि सरकारको विधि र प्रक्रियाअनुसार विकास समितिका पदाधिकारी चयन हुनेछन् । त्यसपछि भेरी अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल दुवैको विकास समिति गठनले पूर्णता पाउनेछ ।

Exit mobile version