शिक्षक छनौट, दोस्रो परीक्षा नै स्थगित

जनता मावि खजुरामा छनौट समितिका अध्यक्षलाई बैठक कक्षबाट बाहिर लगिएको पालिकाको दाबी

खजुरा गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालय, बठवामा प्राथमिक तह तृतीय श्रेणी अस्थायी करार शिक्षक छनौटका लागि सञ्चालन गरिएको परीक्षाको दोस्रो पत्र स्थगित भएको छ ।

पहिलो पत्रको नतिजा सार्वजनिक भएपछि छनौट समितिको बैठक चलिरहेका बेला विद्यालय व्यवस्थापन समितिका सदस्य फरमान खाँ बैठक कक्षमा प्रवेश गरी छनौट समिति अध्यक्ष मायाराम यादवलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई जबर्जस्ती बाहिर लगेपछि दोस्रो पत्रको परीक्षा स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार, विज्ञापन नम्बर ०२÷०८३÷०८४ अन्तर्गत भदौ ३१ गते शिक्षा, युवा तथा खेलकुद शाखामा परीक्षा केन्द्र तोकेर प्राथमिक तह तृतीय श्रेणी अस्थायी करार शिक्षक छनौटको पहिलो पत्र सामान्य परीक्षा सञ्चालन गरिएको थियो। उक्त परीक्षामा १५ जना परीक्षार्थी सहभागी भएका थिए ।

पहिलो पत्रको सामान्य परीक्षामा कृति न्यौपाने मात्र उत्तीर्ण भएकी थिइन् । उनको नामसहितको नतिजा सोही दिन दिउँसो १ बजेर ५६ मिनेटमा सार्वजनिक गरिएको थियो। नतिजा सार्वजनिक भएपछि दोस्रो पत्र विषयगत परीक्षाको तयारीका लागि छनौट समिति बैठक बसेको थियो ।

त्यही क्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य फरमान खाँ बैठक कक्षमा प्रवेश गरेको र छनौट समिति अध्यक्ष मायाराम यादवलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई जबर्जस्ती बैठक कक्षबाट बाहिर लगेको गाउँपालिकाको भनाइ छ । उक्त घटनापछि दोस्रो पत्र विषयगत परीक्षा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ ।

गाउँपालिकाले शिक्षक छनौटको सम्पूर्ण प्रक्रिया निर्धारित विधि र सुरक्षा व्यवस्थाअनुसार सञ्चालन गरिएको दाबी गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइमा सूचीकृत विषयविज्ञमध्ये छनौट समितिको निर्णयअनुसार गोलाप्रथाबाट मोतिराम अधिकारी र चित्रबहादुर विष्ट विषयविज्ञका रूपमा छनौट भएका थिए ।

छनौट भएका दुवै विषयविज्ञले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणसम्मको जिम्मेवारी पूरा गरेका थिए । प्रश्नपत्र निर्माण खजुरा गाउँपालिकाको बैठक कक्षमा सिसी क्यामेराको निगरानीमा गरिएको थियो ।

गाउँपालिकाका अनुसार, पहिलो पत्र सामान्य परीक्षाको पूर्णाङ्क १०० र दोस्रो पत्र विषयगत परीक्षाको पूर्णाङ्क १०० थियो। परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि सिसी क्यामेरा जडित हल प्रयोग गरिएको थियो । बिहान ११ बजेदेखि परीक्षा सञ्चालन गरिएको थियो ।

उत्तरपुस्तिका परीक्षण प्रक्रियामा पनि छुट्टै व्यवस्था अपनाइएको गाउँपालिकाले जनाएको छ। परीक्षार्थीका उत्तरपुस्तिकाको कोडिङ र डिकोडिङ गरिएको थियो। त्यसपछि विषयविज्ञमार्फत परीक्षण तथा सम्परीक्षण गराइएको थियो । सोही प्रक्रियाबाट प्राप्त नतिजा सार्वजनिक गरिएको गाउँपालिकाको भनाइ छ ।

परीक्षालाई निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने उद्देश्यले छनौट समितिका सबै सदस्यको मोबाइल फोनसमेत बन्द गराइएको थियो। गाउँपालिकाका अनुसार बिहान ८ बजेदेखि मोबाइल फोन वरिष्ठ शिक्षा अधिकृतको जिम्मामा दराजमा राखिएको थियो । सामाजिक सञ्जालमा मोबाइल खोसेर राखिएको र जबर्जस्ती गरिएको भन्ने प्रचारप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नतिजा सार्वजनिक भएपछि केही परीक्षार्थीले उत्तरपुस्तिका पुनर्योग गर्न सकिने विषयमा मौखिक जिज्ञासा राखेका थिए। प्रकाशित नतिजामा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनर्योगका लागि लिखित निवेदन दिन सक्ने जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमक्ष दिइएको गाउँपालिकाले जनाएको छ ।

तर पुनर्योगका लागि कुनै पनि परीक्षार्थीबाट लिखित निवेदन नपरेको गाउँपालिकाको दाबी छ । त्यसको सट्टा होहल्ला गरिएको र सोही क्रममा केही परीक्षार्थीका अभिभावक तथा अन्य व्यक्तिहरू एकाएक कार्यालय परिसरमा प्रवेश गरी अनावश्यक होहल्ला गरेको गाउँपालिकाले जनाएको छ। त्यसबाट कार्यालयको नियमित कार्यसम्पादनमा असहज वातावरण सिर्जना भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाले कसैलाई कुनै विषयमा चित्त नबुझे कानुनी प्रक्रिया र पद्धति अपनाएर समाधान खोज्नसमेत आग्रह गरेको छ । शिक्षक छनौट प्रक्रियामा व्यक्तिगत स्वार्थ, पूर्वाग्रह, अनावश्यक दबाब वा अपुष्ट प्रचारको प्रभाव पर्न नदिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत दोहोर्याइएको छ ।

शिक्षा क्षेत्रको मर्यादा, संस्थागत अनुशासन र सार्वजनिक निकायप्रतिको विश्वासमा असर पर्ने गरी तथ्यहीन प्रचारप्रसार नगर्न गाउँपालिकाले सरोकारवालालाई सचेत गराएको छ । शिक्षक छनौट प्रक्रियासम्बन्धी कुनै जिज्ञासा, गुनासो वा आपत्ति भए निर्धारित कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायमा लिखित रूपमा पेश गर्न आग्रह गरिएको छ ।

प्रेस विज्ञप्ति खजुरा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका वरिष्ठ शिक्षा अधिकृत खगेन्द्र बहादुर मल्लले जारी गरेका हुन् ।

Exit mobile version