नेपालगन्जमा पहिलोपटक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

प्रतिस्पर्धामा १४२ खेलाडी

नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता आयोजना भएको छ । पावरलिफ्टिङ संघ बाँकेको आयोजनामा देशका विभिन्न जिल्लाबाट १४२ खेलाडी सहभागी प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप–२०८३ शुक्रबारदेखि नेपालगन्जमा सञ्चालन भएको हो ।

आज शनिवारसम्म चल्ने प्रतियोगिताको शुक्रवार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । उद्घाटन सम्बोधन गर्दै उनले नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता आयोजना हुनु स्थानीय खेलकुद क्षेत्रका लागि महत्वपूर्ण भएको बताए ।

‘राष्ट्रियस्तरको प्रतियोगिता नेपालगन्जमा आयोजना हुनु सकारात्मक कुरा हो । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘यसका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्दै जानेछ ।’

आयोजक बाँके जिल्ला पावरलिफ्टिङ संघका अध्यक्ष डा. प्रतीक श्रेष्ठले प्रतियोगितामा १४२ खेलाडीले सहभागिता जनाएको बताए । विभिन्न जिल्लाबाट खेलाडी नेपालगन्ज आएर राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएकाले यसले स्थानीय खेलकुद गतिविधिलाई समेत चलायमान बनाउने उनको भनाइ छ ।

खेलकुदको विकाससँगै युवालाई यसतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । नेपालगन्जलाई खेलकुदको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पनि प्रतियोगितासँग जोडिएको छ । ‘यो प्रतियोगिता देशमै उत्कृष्ठ र ऐतिहासिक बनेको छ,’ खेलाडी सहभागिता, व्यवस्थापन र आकर्षणका दृष्टिले डा. श्रेष्ठले दावी गरे ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि खेलकुदले युवालाई अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । युवालाई सकारात्मक गतिविधिसँग जोड्न खेलकुद प्रभावकारी माध्यम भएको उनको भनाइ छ । ‘विभिन्न जिल्लाबाट खेलाडी नेपालगन्ज आएर राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनु यहाँको खेलकुद विकासका लागि महत्वपूर्ण अवसर हो,’ उनले भने ।

अध्यक्ष श्रेष्ठका अनुसार, पावरलिफ्टिङ संघ बाँकेको आयोजनामा तथा राष्ट्रिय पावरलिफ्टिङ महासंघको सहकार्य र नेपालगन्ज उपमहानगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

पावरलिफ्टिङ खेललाई बाँकेमा संस्थागत रूपमा अघि बढाउने प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार, यस खेलमा स्क्वाट, बेन्च प्रेस र डेडलिफ्ट गरी तीन मुख्य विधा हुन्छन् ।

पावरलिफ्टिङको पहिलो आधिकारिक प्रतियोगिता सन् १९६४ मा अमेरिकाको यार्क बारबेल कम्पनीले आयोजना गरेको श्रेष्ठले बताए । उनका अनुसार, सन् १९७२ मा एमेच्योर एथलेटिक युनियन अर्थात् एएयूले पावरलिफ्टिङलाई आधिकारिक रूपमा दर्ता गरी अघि बढाएको थियो ।

बाँकेमा अन्य आइरन गेम्सका संघसंस्था दर्ता भए पनि पावरलिफ्टिङको आधिकारिक संघ दर्ता हुन नसकेको अवस्था रहेको श्रेष्ठले बताए । निरन्तरको प्रयासपछि संघ दर्ता गर्न सफल भएपछि नै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने बाटो खुलेको उनले बताए ।

‘पावरलिफ्टिङलगायत सबै आइरन गेम्सलाई अघि बढाउन संघसंस्था, जिम सञ्चालक र खेलप्रेमीबीच सहकार्य आवश्यक छ,’ उनले भने, ‘खेलाडीको सहभागिता बढाउने र उनीहरूलाई प्रोत्साहित गर्ने काममा सबै पक्षको भूमिका हुनुपर्छ ।’

प्रतियोगिताको व्यवस्थापनमा खेलाडीको सुविधालाई प्राथमिकतामा राखिएको श्रेष्ठले बताए । खेलाडीको मनोबल बढाउन प्रतियोगिताको व्यवस्थापन व्यवस्थित हुनुपर्ने उनको भनाइ छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज–२ का वडाध्यक्ष मनोज श्रेष्ठ, प्रशिक्षक लवराज श्रेष्ठले आयोजना बारे आफ्ना धारणा राखेका थिए । वरिष्ठ प्रशिक्षक लक्ष्मण केसी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रतीत सिंह राठौर र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्कालगायतको पनि सहभागिता रहेको उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ममता थापामगरले गरेकी थिइन् ।

Exit mobile version