नियमित रक्तदातालाई सम्मान गरिँदै
लामो समयदेखि नियमित रक्तदान गर्दै आएका पाँच जना रक्त अभियन्तालाई सम्मान गर्दै जनमत रक्तदान अभियानको ७१ औं श्रृङ्खलाअन्तर्गत आज शनिवार रक्तदान कार्यक्रम हुँदैछ । गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अर्धसाप्ताहिकको आयोजनामा आज रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
रक्तदान कार्यक्रममा सहभागी हुँदै आएका स्वयंसेवी रक्त अभियन्तालाई आयोजकले हरेक तीन महिनामा पालैपालो सम्मान गर्दै आएको छ । यही क्रममा आज पाँच जना रक्त अभियन्तालाई सम्मान गरिने कार्यक्रम संयोजक तथा शतक रक्तदाता पवन जायसवालले बताए ।
उनका अनुसार, गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अर्धसाप्ताहिकले लामो समयदेखि रक्तदान अभियानमा सक्रिय रक्तदातालाई सम्मान गर्दै आएको छ । रक्तदानमा नियमित सहभागी हुने अभियन्ताको योगदानको कदर गर्दै सम्मानलाई अभियानकै निरन्तर गतिविधिका रूपमा अघि बढाइएको उनले बताए ।
जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुकेका अनुसार, ‘रक्तदान जीवन दान’को उद्देश्यसहित यो अभियान सञ्चालन हुँदै आएको हो । जनमत अर्धसाप्ताहिकको रजत उत्सवको अवसर पारेर विसं २०६३ वैशाख २९ गतेदेखि सुरु गरिएको रक्तदान अभियान निरन्तर सञ्चालनमा रहेको उनले जानकारी दिए ।
रक्तदान कार्यक्रममार्फत आवश्यक परेका बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुग्ने भएकाले स्वयम्सेवी रक्तदाताको सहभागिता महत्वपूर्ण रहेको आयोजकले जनाएको छ । रक्तदानलाई मानवीय सेवासँग जोड्दै अभियानलाई निरन्तरता दिइएको उनीहरूको भनाइ छ ।
आयोजकले आज हुने रक्तदान कार्यक्रममा सहभागी हुन सबै स्वयम्सेवी रक्तदातालाई आह्वान गरेको छ । ‘रक्तदान महादान’ अभियानमा सहभागी भएर पुण्य कमाउन र मानवीय सेवामा योगदान गर्न उनीहरूले रक्तदातालाई आग्रह गरेका छन् ।
