एसएसबीलाई हराउँदै नेपाल एपीएफ विजयी, मैत्रीपूर्ण भलिबलमा २–१ को नतिजा
नेपाल–भारत सीमा सुरक्षार्थ तैनाथ दुबैदेशका सशस्त्र सुरक्षा बलका फौजीहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनाको पहलस्वरुप मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । भारतको सशस्त्र सीमा बल (एसएसबी) र नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) बीच शनिवार दशगजा छेउमै रुपैडिहामा यसखालको आयोजना गरिएको हो । जहाँ दुबैदेशका सुरक्षा अधिकारीहरु सैन्य बल भन्दा टाढा भावनात्मक बलको भरपुर उत्साह प्रकट गरेर नेपाल भारतबीचको सम्बन्धको उत्कृष्टता प्रदर्शन गरे ।
त्यसो त एपीएफ र एसएसबीले सीमा सुरक्षार्थ सयुक्त गस्ती गरेर समस्याको सामुहिक निदान र समाधानमा काम गरिरहेका देखिन्छन् । बाँकेमा सीमा सम्बन्धमा ठुला समस्या पनि सतहमा आएको देखिंदैन । तर, यसरी सिर्जनात्मक आयोजनामार्फत सम्बन्ध स्थापनाले भूगोलका राजनीतिक सिमारेखालाई मानवीय संवेदनाले समस्याहीन बनाउन मद्दत पुग्ने आशा गर्न सकिन्थ्यो । ‘माता जानकीको जनकपुरदेखि मर्यादा पुरुषोत्तम रामको अयोद्धासम्म, भगवान पशुपतिनाथदेखि काशी–केदारनाथसम्मको हाम्रो सम्बन्धले दुई फरक देश हुन् भन्नेनै भावना राख्दैन,’ एकजना फौजी सिपाहीले खेलका बीचमा भने ।
मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल एपीएफले जित निकालेको छ । आयोजक भारतको रुपैडिहास्थित ४२औँ वाहिनी एसएसबीको बीओपी परिसरमा भएको खेलमा नेपाल एपीएफले एसएसबीलाई २–१ को सेटमा पराजित गरेको हो । खेलपनि निकै रोमाञ्चक र प्रतिष्पर्धी थियो ।
दुई देशका सुरक्षा निकायबीच आपसी सद्भाव र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले आयोजित खेलमा दुवै टोलीका खेलाडीले उत्साहपूर्वक प्रतिस्पर्धा गरेका थिए । खेलमा दुवै पक्षबाट उत्कृष्ट प्रदर्शन भएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा अन्ततः नेपाल एपीएफले बाजी मा¥यो ।
आयोजकका तर्फबाट ४२औँ वाहिनी एसएसबीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेयले दुई देशका सुरक्षा बलबीच हुने मैत्रीपूर्ण खेलले आपसी तालमेल र सौहार्द बढाउने विश्वास गरिएको बताए । सीमा सुरक्षामा निरन्तर खटिनुपर्ने जवानका लागि यस्ता गतिविधि उपयोगी हुने उनको भनाइ थियो ।
’सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कायम राख्ने र निरन्तर ड्युटीमा खटिने जवानलाई यस्ता मैत्रीपूर्ण खेलले मानसिक रूपमा तरोताजा बनाउँछन् । यसले उनीहरूको उत्साह र मनोबल बढाउन पनि सहयोग गर्छ,’ पाण्डेयले भने । उनले आगामी दिनमा पनि दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय र मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन खेलकुदलगायत अन्य कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
खेलको सुरुआतमा एसएसबीले टस जितेर आफ्नो कोर्ट रोजेको थियो । त्यसपछि सुरु भएको प्रतिस्पर्धामा दुवै टोलीले एकअर्कालाई कडा चुनौती दिएका थिए । खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए । अन्तिममा नेपाल एपीएफले २–१ को नतिजासहित जित आफ्नो पक्षमा पारेको थियो । प्रतिष्पर्धा अवधिभर नेपालका सागर थापा र भारततिरका तुफानको नाम निकै चम्किएको थियो ।
मैत्रीपूर्ण खेलले सीमामा खटिने सुरक्षाकर्मीलाई नियमित जिम्मेवारीभन्दा बाहिर आपसी घुलमिल र खेलकुदमार्फत सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका थिए । प्रतियोगितामा नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिक अगुवा, उद्योगी, व्यापारी तथा पत्रकारहरूको समेत सहभागिता थियो । उनीहरूले यस्ता खेलकुद कार्यक्रमले दुई देशबीचको भाइचारा र आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा ४२औँ वाहिनी एसएसबीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेय, नेपाल एपीएफका अधिकारी भीम चन्दलगायत दुवै देशका सुरक्षा अधिकारीहरूको उपस्थिति थियो । खेलको शुभारम्भ नेपाल र भारतको राष्ट्रिय गानबाट गरिएको थियो । त्यसपछि उपस्थित अधिकारीहरूले दुवै टोलीका खेलाडीलाई खेलभावनाका साथ प्रतिस्पर्धा गर्न प्रोत्साहित गरेका थिए ।
