नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित नेतृत्वलाई ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय नेपालगन्जले स्वागत तथा अभिनन्दन गरेको छ । संघका अध्यक्ष चिरञ्जीवी ओलीसहित पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई सम्मान गर्दै संस्थाले शनिवार उनीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा उद्योग, व्यापार तथा व्यवसायको विकाससँगै सकारात्मक सोच, नैतिक मूल्य–मान्यता र सामाजिक सद्भावलाई आत्मसात गर्नुपर्नेमा जोड दिइएको थियो । नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै संस्थाले व्यवसायिक क्षेत्रको प्रगतिका लागि खुशी र सकारात्मक भावनाका साथ काम गर्न आग्रह गरेको थियो ।
संस्थाकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले प्रतिकूल परिस्थितिमाथि विजय प्राप्त गर्न बलियो मनस्थिति आवश्यक हुने बताइन्। मानिसको आन्तरिक विकास र राष्ट्र निर्माणमा सकारात्मक सोच तथा राजयोगको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । उनले उद्योगी व्यवसायीलाई आपसी सद्भाव र नैतिक मूल्य–मान्यतासहित आफ्नो क्षेत्रको विकासमा लाग्न आग्रह गरिन् ।
ब्रह्माकुमारीज र नेपालगन्ज उद्योग वाणिज्य संघबीच आगामी दिनमा आध्यात्मिक चेतना, सकारात्मक सोच, सामाजिक सद्भाव, नैतिक व्यवसायिक अभ्यास र समाजसेवाका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि सकारात्मक धारणा व्यक्त गरिएको थियो ।
स्वागत तथा अभिनन्दन कार्यक्रमले नेपालगन्जको उद्योग–व्यवसाय क्षेत्र र आध्यात्मिक संस्थाबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । व्यवसायिक विकाससँगै मानवीय मूल्य र सामाजिक उत्तरदायित्वलाई जोड्ने वातावरण निर्माणमा कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले गरेकी थिइन् । संस्थाका सचिव ब्रह्माकुमार कृष्णबहादुर रानाभाटले कविता वाचनमार्फत स्वागत गरेका थिए। क्षेत्रीय उपप्रमुख ब्रह्माकुमारी मुनाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा सहभागी सबैलाई ईश्वरीय उपहारसमेत प्रदान गरिएको थियो ।
