एकलैनीबाट ३५.९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका एकलैनीबाट प्रहरीले ३५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले एकलैनीस्थित एक घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरमा बस्दै आएका ३० वर्षीय मोहम्मद हसिब अन्सारी र उनका २३ वर्षीय भाइ समिर अहमद अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथ तथा कोठाको दराजबाट शुद्ध तौल ३५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट विभिन्न कम्पनीका ५ थान मोबाइल, १ थान डिजिटल तराजु र नेपाली रुपैयाँ ७३ हजार ७०० समेत बरामद भएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।

Exit mobile version