युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेले वातावरण संरक्षणसँगै सदस्यहरूको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले आफ्ना समूह सदस्यलाई उन्नत जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरेको छ ।
संस्थाले बाँकेको बिनौना र राँझा तथा बर्दियाको बाँसगढी र गुलरिया शाखाअन्तर्गत ५०० जना समूह सदस्यलाई शनिबार र आइतबार प्रतिव्यक्ति दुई वटाका दरले एक हजार वटा फलफूलका बिरुवा वितरण गरेको हो ।
संस्थाका कार्यसञ्चालन तथा कर्जा विभाग प्रमुख मदन चौधरीका अनुसार वातावरण संरक्षणमा योगदान पु¥याउनुका साथै सदस्यहरूको आम्दानीको स्रोत विस्तार गर्ने उद्देश्यले हरेक वर्ष फलफूलका बिरुवा वितरण गर्दै आएको छ ।
बिरुवा वितरणसँगै सदस्यलाई फलफूल खेतीसम्बन्धी व्यावहारिक प्रशिक्षणसमेत दिइएको थियो । ओम शान्ति फलफूल तथा नर्सरीकी प्रोप्राइटर राजरानी थारुले फलफूल रोप्ने तरिका, उपयुक्त जमिन छनोट, जग्गा तयारी, मलखादको प्रयोग तथा गोडमेल गर्ने तरिकाबारे प्रशिक्षण दिएका थिए ।
सदस्यहरूलाई पाकिस्तानी कागती, बिजु कटहर, जापानिज नासपाती, एप्पल बयर, रेड जम्बु ड्रागन फ्रुट, बम्बई आँप, दशेरी आँप, शाही लिची र सिडलेस कागतीलगायत विभिन्न उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको संस्थाले जनाएको छ ।
