बाँकेको खजुरा–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण बन्द रहेका अत्याधुनिक लिनियर एक्सीलरेटर र ब्रेकीथेरापी मेसिन पुनः सञ्चालनमा आएका छन् ।
मेसिन सञ्चालनमा आएसँगै अस्पतालले आज सोमबारदेखि नियमित रूपमा रेडियोथेरापी सेवा पुनः सुरु गरेको जनाएको छ ।
लिन्याक र ब्रेकीथेरापी मेसिनमा प्राविधिक समस्या आएपछि गत वैशाख १५–१६ गतेदेखि रेडियोथेरापी सेवा प्रभावित भएको थियो ।
सेवा बन्द हुँदा उपचारका लागि अस्पताल आउने बिरामीलाई असहजता हुनुका साथै कतिपय बिरामी अन्यत्र उपचारका लागि जानुपर्ने अवस्था आएको थियो ।
अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार प्राविधिक समस्या समाधान भएसँगै दुवै उपकरण सञ्चालनमा ल्याइएको हो । अब रेडियोथेरापी सेवा लिनुपर्ने बिरामीले अस्पतालबाटै नियमित उपचार सेवा लिन सक्ने उनले बताए ।
क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि मानिन्छ । लिनियर एक्सीलरेटरमार्फत क्यान्सर प्रभावित शरीरको भागमा आवश्यक मात्रामा विकिरण पु¥याएर उपचार गरिन्छ ।
त्यस्तै, ब्रेकीथेरापीमा उपचार आवश्यक पर्ने स्थानको नजिकै विकिरणको स्रोत राखेर उपचार गरिन्छ ।
यी दुवै अत्याधुनिक प्रविधि पुनः सञ्चालनमा आएपछि पश्चिम नेपाल तथा आसपासका क्षेत्रका क्यान्सर बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालको अपेक्षा छ । अस्पतालले बिरामीलाई आफ्नै पायक पर्ने स्थानमा गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।
अस्पतालमा रेडियोथेरापीसँगै किमोथेरापी, क्यान्सर शल्यक्रिया, ब्रेकीथेरापी, सिटी स्क्यान, म्यामोग्राफी र भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छन् ।
गम्भीर अवस्थाका बिरामीका लागि अत्याधुनिक सघन उपचार कक्ष (आईसीयू), निरन्तर निगरानी र भेन्टिलेटरको सुविधा पनि रहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, शल्यक्रिया, डे केयर, रक्तसञ्चार, इसिजी तथा इको सेवा सञ्चालनमा छन् । २४ घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे र एम्बुलेन्स सेवासमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्थापना प्रखर परोपकार मिशन नेपाल गठन भएपछि अघि बढेको हो ।
२०६२ मङ्सिर २७ गते प्रखर परोपकार मिशन नेपालको स्थापना भएको थियो भने २०६४ वैशाख १७ गते महामण्डलेश्वर प्रखर महाराजबाट अस्पताल भवनको शिलान्यास गरिएको थियो ।
सुरुमा नेपाल क्यान्सर अस्पतालका रूपमा अघि बढाइएको अस्पताललाई २०७३ फागुन १५ गते गठन आदेशमार्फत नाम परिवर्तन गरी सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामकरण गरिएको हो ।
अस्पतालले २०७७ मङ्सिर ५ गतेदेखि आफ्नै अपरेसन थिएटरमार्फत शल्यक्रिया सेवा पनि सुरु गरेको थियो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर बिरामीलाई लक्षित गरी सञ्चालनमा रहेको अस्पताल पश्चिम नेपालमा सरकारी क्षेत्रबाट सञ्चालित प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
रेडियोथेरापीका अत्याधुनिक उपकरण पुनः सञ्चालनमा आएसँगै क्यान्सर उपचारका लागि आउने बिरामीलाई थप सहज हुने अस्पतालका सूचना अधिकारी डा. गुप्ताले
बताए ।
