नेपालगन्जबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित श्रीमान्–श्रीमती पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले आइतबार नेपालगन्ज उपमहानगरपालिका–२ बाट लागुऔषध बिक्री गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र सोही स्थानकी २५ वर्षीया पूजा लोनिया रहेका छन्। उनीहरू श्रीमान्–श्रीमती रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन, भे ६ प ३७४५ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
