नेपाली कथा साहित्यमा आफ्नै मानक छाप बनाएका वरिष्ठ साहित्यिक स्रष्टा सनत रेग्मी आज मंगलबारदेखि ८० वर्षमा प्रवेश गर्दै छन् । उनको ८०औं जन्मदिनको अवसर पारेर नेपालगन्जका साहित्यिक संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दै छन् । साहित्य सिर्जनासँगै सामाजिक सेवा र संस्थागत अभियानमा समेत लामो समय सक्रिय रेग्मीलाई यसपटक उनका शब्द, कर्म र योगदानमार्फत सम्झिँदै सम्मान गर्न लागिएको हो ।
मध्यपश्चिम स्रष्टा समाजले रेग्मीको ८०औं जन्मोत्सव औपचारिक रूपमा मनाउने भएको छ । समाजका अध्यक्ष वीपी अस्तुले जन्मोत्सवका अवसरमा विशेष कार्यक्रम तय गरिएको जानकारी दिए । मंगलबार नै विद्या कुटीर फाउन्डेसनले उनैको नाम कालजयी राख्दै ‘सनत रचना कथा सम्मान’ हस्तान्तरण गर्ने कार्यक्रम पनि राखेको छ । यसवर्षको सनत रचना कथा सम्मान युवा श्रष्टा नवीन अभिलाषीको कथासंग्रह ‘दहाड’ लाई प्रदान गरिंदैछ ।
यसै अवसरमा रेग्मीको व्यक्तित्व र कृतित्वमा केन्द्रित ‘सनत रेग्मी शब्दाभिनन्दन’ कृति पनि नेपालगन्जमा विमोचन हुँदैछ । वरिष्ठ साहित्यकार तथा समाजसेवी रेग्मीको लामो साहित्यिक यात्रालाई समेटेर तयार पारिएको यो कृति उनको सिर्जना, व्यक्तित्व र योगदानको दस्तावेजका रूपमा रहने बताइएको छ । असीको कसीमा लागेका रेग्मीका ‘टुक्राटुक्रा जिन्दगी’ निवन्ध संग्रह पनि आजै विमोचन गरिने कार्यक्रम छ ।
नेपालगन्जलाई प्रमुख कर्मभूमि बनाएर रेग्मीले नेपाली साहित्यसँगै सामाजिक क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै आएका छन् । साहित्यिक संस्था निर्माणदेखि विभिन्न सामाजिक संस्थामार्फत गरिएका उनका गतिविधिले नेपालगन्जको सार्वजनिक जीवनमा पनि छुट्टै छाप छाडेको छ । त्यसैले उनको परिचय कथा लेखकमा मात्रै सीमित छैन । साहित्य, सामाजिक सेवा र सार्वजनिक जीवनका अनेक आयाममा उनको उपस्थिति देखिन्छ ।
२००४ साल असोज ६ गते नेपालगन्ज–७ गगनगन्जमा जन्मिएका रेग्मी नेपाली कथा साहित्यका स्थापित स्रष्टा हुन् । भारतको गुरुकुल वैद्यनाथ धामबाट उनले आईए तथा साहित्यरत्नसम्मको अध्ययन गरेका छन् । लेखनको प्रारम्भिक चरणमा उनले हिन्दी भाषामा समेत साहित्य सिर्जना गरेका थिए ।
नेपाली कथा लेखनमा भने पश्चिम तराईको सामाजिक परिवेश उनको सिर्जनाको महत्वपूर्ण आधार बन्दै आएको छ । त्यहाँको जनजीवन, मानवीय सम्बन्ध र समयका विभिन्न अन्तरविरोध उनका कथामा अभिव्यक्त हुन्छन्। ‘लछमनियाको गौना’ उनका चर्चित कृतिमध्ये पर्छ। यद्यपि रेग्मीले आफूलाई एउटै कृतिको लेखकका रूपमा मात्र बुझ्नु उचित नहुने धारणा राख्दै आएका छन् ।

उनको समग्र कथा लेखन नेपाली कथा साहित्यको लामो विकासक्रमसँग जोडिएको छ । कथा लेखनकै कारण उनले विशिष्ट पहिचान बनाएका हुन् । नेपाली कथामा उनले स्थापित गरेको मानक छाप नै उनका परिचयका महत्वपूर्ण आधारमध्ये एक मानिन्छ । तर, उनको साहित्यिक यात्रालाई कथाकारको परिचयमा मात्रै सीमित गर्न सकिँदैन ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ हुँदै सदस्य–सचिवको जिम्मेवारीसम्म पुगेका रेग्मी नेपालगन्जका अग्रणी साहित्यिक व्यक्तित्वका रूपमा पनि चिनिन्छन् । साहित्यिक क्षेत्रमा उनको योगदान सिर्जनामा मात्रै सीमित रहेन । संस्था र अभियान निर्माणमा समेत उनले लामो समय काम गरे ।
साहित्यसँगै सामाजिक सेवामा पनि उनको सक्रियता रहँदै आएको छ । नेपाल रेडक्रस सोसाइटीसँग आबद्ध रहेर उनले मानवीय सेवाका क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । यही कारण रेग्मीलाई साहित्यकारसँगै समाजसेवीका रूपमा पनि चिनिन्छ ।
यसअघि २०७८ सालमा उनको ७५औं जन्मोत्सव पनि नेपालगन्जका साहित्यिक संस्थाहरूले विशेष रूपमा मनाएका थिए । त्यस अवसरमा बाँकेका विभिन्न साहित्यिक संघ संस्थाका तर्फबाट रेग्मीको सार्वजनिक अभिनन्दन गरिएको थियो । सोही कार्यक्रममा उनका ७५ कथा समेटिएको ‘सनत–७५ ः सनत रेग्मीका रोजा कथा’ कृतिसमेत विमोचन गरिएको थियो ।