यात्रुको चाप बढ्दै गए पनि टिकट काउन्टर र सरसफाइको व्यवस्था विस्तार नहुँदा सीमावर्ती रुपैडिहा बजारस्थित, नेपालगन्ज रोड रेलवे स्टेशनमा यात्रुले सास्ती खेप्नुपरेको छ । हरेक दिन बिहान ८ः२० बजे गोन्डाका लागि छुट्ने यात्रुवाहक रेल चढ्न आउने सयौं यात्रु एउटै टिकट काउन्टरमा निर्भर छन् । टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने बाध्यताले कतिपय यात्रुको रेल नै छुट्ने अवस्था बनेको छ ।
रेलवे स्टेशनमा यात्रुको चाप दिनहुँ बढिरहेको छ । विशेषगरी बिहान गोन्डा जाने रेल छुट्ने समयमा टिकट लिन यात्रुको एकैपटक घुइँचो लाग्छ । तर, टिकट वितरणका लागि एउटा मात्रै झ्याल सञ्चालनमा छ। यात्रुको संख्या र टिकट काउन्टरको सीमितताबीच तालमेल नहुँदा यात्रुले समयमै टिकट पाउन कठिन भइरहेको छ ।
टिकट वितरक फिरोज बिहान करिब ७ बजे नै स्टेशन पुग्ने गरेका छन् । तर, रेल छुट्ने समय नजिकिँदै जाँदा टिकट लिने यात्रुको संख्या ह्वात्तै बढ्छ । एउटै काउन्टरमा लामो लाइन लागेपछि टिकट वितरणमा ढिलाइ हुने गरेको छ ।
टिकट वितरक फिरोजका अनुसार, अन्तिम समयमा टिकट लिन आउने कतिपय यात्रुले ५०० रुपैयाँका नोट दिने गरेका छन्। खुला पैसाको अभावले टिकट काट्न थप समय लाग्ने र त्यसले काउन्टरमा भीड झनै बढाउने गरेको उनले बताए । यात्रुको चाप व्यवस्थापन गर्न थप काउन्टर आवश्यक देखिएको छ ।
टिकट काउन्टरको समस्यासँगै स्टेशनको प्लेटफार्ममा सरसफाइ नहुँदा पनि यात्रु र स्थानीय बासिन्दा आजित छन् । प्लेटफार्मका विभिन्न स्थानमा फोहोर थुप्रिएको देखिन्छ। चौपायाको निर्वाध आवतजावतले पनि सरसफाइमा समस्या थपेको छ ।
स्टेशनमा नियमित सरसफाइकर्मीको व्यवस्था नभएको स्थानीयको गुनासो छ । निजी सफाइकर्मीले बिहानको समयमा मात्रै सरसफाइ गर्ने गरेका छन् । त्यसपछि दिनभर प्लेटफार्मको सफाइमा ध्यान नपुग्दा फोहोर बढ्ने गरेको उनीहरूको भनाइ छ ।
‘स्टेशनमा देखिएका यी समस्याको तत्काल समाधान गर्न स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा दैनिक रेलयात्री संघले रेलवे प्रशासनसँग माग गरेका छन्,’ पत्रकार सुरेन्द्र मधेसियाले दैनिक नेपालगन्जसँग भने, ‘रुपैडिहा नगर पञ्चायतका सभासद् रजा इमाम रिजवी, मनोज प्रजापति, ध्रुवराज वर्मा, रईस अहमद, जहीर अहमद र राजकुमार कसौंधनले यात्रुको समस्याप्रति ध्यानाकर्षण पनि गराएका छन् ।’
त्यस्तै, व्यापार मण्डलका संरक्षक संजय बंसल, अध्यक्ष शैलेश जायसवाल र दैनिक रेलयात्री संघ नेपालगन्ज रोडका अध्यक्ष जाफर इमाम रिजवीसहित दर्जनौं स्थानीयले स्टेशनको सेवा र व्यवस्थापन सुधार गर्न माग गरेका छन् ।
उनीहरूले यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै तत्काल थप टिकट काउन्टर सञ्चालन गर्नुपर्ने बताएका छन् । टिकट वितरण सहज बनाउने मात्रै नभई प्लेटफार्मको नियमित सरसफाइ, चौपायाको प्रवेशमा रोक र पर्याप्त सफाइकर्मीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । स्टेशनमा यात्रुमैत्री वातावरण बनाउन रेलवे प्रशासनले ढिलाइ नगरी आवश्यक कदम चाल्नुपर्ने स्थानीयको जोड छ ।
