बाँके कांग्रेसमा पालिका नेतृत्वका लागि रस्साकस्सी

नेपालगन्ज र कोहलपुरमा प्यानल सार्वजनिक

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकेका पालिका अधिवेशन नजिकिएसँगै नगर तथा गाउँपालिका नेतृत्वका लागि प्रतिस्पर्धा चर्किएको छ । नेपालगन्ज र कोहलपुरमा आकांक्षीहरूले छुट्टाछुट्टै प्यानल सार्वजनिक गरेका छन् । क्षेत्रीय प्रतिनिधिको मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरू आन्तरिक छलफल, टिम निर्माण र मत माग्न सक्रिय भएका छन् ।

बाँकेका ८१ वटै वडामा अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशनको चहलपहल बढेको नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारीले बताए । ‘जिल्लाका ८१ वटै वडामा अधिवेशन सफलतापूर्वक सकिएपछि पालिका अधिवेशनको माहोल बनेको हो,’ अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘धमाधम सबैजसो पालिकामा टिम बनाउने र भोट माग्ने काम सुरु भइसकेको छ ।’

बुधबार र बिहीबारका लागि तय गरिएको नगर अधिवेशनको मिति नजिकिँदै गर्दा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा नेतृत्वका आकांक्षीले औपचारिक कार्यक्रममार्फत प्यानल सार्वजनिक गरेका छन् । नेपालगन्जमा कार्यवाहक नगर सभापति धनराज बर्मा र अघिल्लो निर्वाचनका प्रत्यासी विनोद रिजालले आ–आफ्नो प्यानल घोषणा गरेका छन् । मंगलबार आयोजित दुवै पक्षका कार्यक्रममा जिल्ला तहका नेताहरूको उपस्थितिले पार्टीभित्रको ध्रुवीकरणसमेत सतहमा आएको छ । ललित रौनियारले पनि नगरसभापतिमा आफ्नो उम्मेदवारी रहने घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् ।

कोहलपुर नगरपालिकामा वर्तमान नगर सभापति वीरेन्द्र शाह र महासमिति सदस्य चिन्तामणि धितालबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ । खजुरा गाउँपालिकामा भने वर्तमान पालिका सभापति रमेश सिंजाली र महेन्द्र मल्ल ठकुरीले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। पालिका नेतृत्वमा पुग्न चाहने आकांक्षीहरू क्षेत्रीय प्रतिनिधिसँग मत माग्ने र आन्तरिक समीकरण मिलाउने प्रयासमा जुटेका छन् ।

कांग्रेसको केन्द्रीय तहमा महाधिवेशनको कार्यतालिकालाई लिएर मतभेद कायम रहे पनि बाँकेमा अधिवेशनको तयारीले गति लिएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा समूहले छुट्टै कार्यतालिका अघि सारेको छ । डा. शेखर कोइराला समूहले भने ‘एकताको महाधिवेशन’को माग गर्दै असन्तुष्टि जनाउँदै आएको छ । यस्तो पृष्ठभूमिमा पनि अधिकांश नेता तथा कार्यकर्ता अधिवेशन प्रक्रियामा सहभागी भइरहेका छन् । बाँकेमा असन्तुष्टहरुको खासै प्रभाव भने देखिएको छैन ।

वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएसँगै पालिका नेतृत्व चयनका लागि प्रतिस्पर्धा सुरु भएको कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले बताए। ‘राजनीतिक प्रतिद्वन्द्विताभन्दा पनि आफ्नो प्यानल बनाएर आन्तरिक संघर्षलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ कोइरालाले दैनिक नेपालगन्जसँग भने, ‘सिंगो पार्टी अधिवेशन केन्द्रित भएको छ ।’

Exit mobile version