समाजको पिँधमा रहेका मानिसका इतिहास, विभेद र अलिखित संघर्षलाई कथामा उतारेका नवीन अभिलाषी ‘सनत रचना कथा सम्मान २०८२’ बाट सम्मानित भएका छन् । मध्यपश्चिम स्रष्टा समाजले २०८२ सालमा प्रकाशित उनको कथासंग्रह ‘दहाड’लाई छनोट गर्दै सम्मान प्रदान गरेको हो ।
नेपालगन्जमा मंगलवार आयोजित समारोहमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र सम्मानका संस्थापक, वरिष्ठ कथाकार सनत रेग्मीले अभिलाषीलाई सम्मानपत्रसहित नगद ११ हजार १११ रुपैयाँ प्रदान गरे ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुका अनुसार, गत वर्ष प्रकाशित कथासंग्रहहरूमध्ये छनोट गरी सम्मान प्रदान गरिएको हो । आह्वानअनुसार प्राप्त कृतिमध्ये वरिष्ठ साहित्यकार तथा सम्पादक गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले ‘दहाड’लाई सम्मानका लागि छनोट गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
अभिलाषीले ‘दहाड’मार्फत नेपाली समाजको इतिहास र वर्तमानका कटु यथार्थलाई कथामा उतारेका छन् । बहुआयामिक असमानताले जन्माएका विडम्बना र सामाजिक संरचनाको पिँधमा रहेकाहरूका अलिखित संघर्षलाई केन्द्रमा राखेर कथा लेखेकाले उनको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष अस्तुको भनाइ छ ।
कथासंग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै समीक्षक भागवत पौडेलले ‘दहाड’मा न्यायको मुद्दा प्रमुख रूपमा उठाइएको बताए । कथाहरूले न्यायको प्रश्नसँगै त्यो न्याय कसले दिने भन्ने जिज्ञासा पनि छाडेको उनको भनाइ थियो ।
विभिन्न तहका विभेद र असमानताका कारण अन्यायमा परेका मानिसका कथा लेखेर अभिलाषीले समाजसामु प्रश्नहरू राखेको पौडेलले बताए । उनका अनुसार ती प्रश्न जीवित रहुन्जेल कथासंग्रहको सान्दर्भिकता पनि कायम रहनेछ ।
सम्मान ग्रहणपछि कथाकार अभिलाषीले समाजमा विभेदका अनेक तह रहेको थाहा पाएपछि आफूमा साहित्य अध्ययन र लेखनप्रति रुचि जागेको बताए । ‘दहाड’मा आफ्नै समुदायको इतिहासलाई भुइँतहबाट हेर्ने प्रयास गरेको उनले उल्लेख गरे ।
कविताबाट साहित्यिक यात्रा सुरु गरेका अभिलाषी पछिल्लो समय कथा लेखनमा पनि परिचित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यसमेत रहेका उनको लेखनले नेपाली साहित्यमा आफ्नो अलग उपस्थिति बनाउँदै आएको छ ।
वरिष्ठ कथाकार रेग्मीले आफ्नी जीवनसंगीनी रचना रेग्मीको नामसमेत जोडेर स्थापना गरेको यो सम्मान मध्यपश्चिम स्रष्टा समाजले व्यवस्थापन गर्दै आएको छ । सम्मानको पहिलो संस्करण २०७९ सालमा कथाकार दिला शाहको ‘अँध्यारो बस्तीकी नायिका’ कथासंग्रहलाई प्रदान गरिएको थियो । त्यसपछि २०८० सालमा गोपाल अश्कको ‘कालो गुलाब’ र २०८१ सालमा श्रेयज सुवेदीको ‘बहुरुपी’ कथासंग्रह सम्मानित भएका थिए ।
कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मीको ८० औँ जन्मदिवससमेत मनाइएको थियो । सोही अवसरमा उनका दुई कृति विमोचन गरिए । रेग्मीका निबन्धहरूको संग्रह ‘टुक्रा टुक्रा जिन्दगी’ र उनको साहित्यिक व्यक्तित्वमाथि विभिन्न व्यक्तिले लेखेका आलेखहरूको संग्रह ‘सनत रेग्मी शब्दाभिनन्दन’ सार्वजनिक गरिएको हो ।
विमोचित कृतिमध्ये ‘टुक्रा टुक्रा जिन्दगी’माथि भेरी साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. हरि तिमिल्सिनाले र ‘सनत रेग्मी शब्दाभिनन्दन’माथि साहित्यकार ऋचा लुइटेलले परिचयात्मक टिप्पणी राखेका थिए । रेग्मीले आफ्ना धारणा राख्दै जीवनका अनुभूतिर निरन्तर लेखनका प्रेरणाबारे चर्चा गरे ।
कार्यक्रममा प्रमुख अतिथि रोदन, कथाकार अभिलाषी, उपन्यास समाजका अध्यक्ष शंकर भारती, नेपाली भाषाविद् प्रा.डा. कृष्णप्रसाद घिमिरे, भारतको महाराष्ट्रबाट आएका साहित्यकार मनिषा खटाटे र प्रदीप सारंग, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य किरण आचार्य, वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरलगायतले आफ्ना साहित्यिक धारणा राखेका थिए ।
