चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा लुम्बिनी प्रदेशमा ठूलो संख्यामा अवैध हातहतियार तथा गोलीगठ्ठा बरामद गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार साउन र भदौ महिनामा प्रदेशका विभिन्न जिल्लाबाट भरुवा बन्दुक, पेस्तोल, रिभल्वर, नक्कली हतियारसँगै गोली, छर्रा, बारुद र अन्य सामग्री बरामद गरिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले सार्वजनिक गरेको विवरणअनुसार साउन र भदौमा प्रदेशका विभिन्न जिल्लाबाट ३ सय १३ वटा अवैध हतियार बरामद भएका हुन् । प्रहरीले हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी कसुरमा साउनमा ५ र भदौंमा ५ जना पक्राउ गरेको छ ।
प्रहरीको साउन महिनाको विवरण अनुसार, लुम्बिनीका विभिन्न जिल्लाबाट १ सय ८६ नाल भरुवा बन्दुक, दुई थान पेस्तोल र एक थान नक्कली पेस्तोल बरामद गरिएको छ । यससँगै गोली, छर्रा, बारुदलगायतका सामग्री पनि बरामद भएका छन् ।
साउनमा प्युठानबाट मात्रै ६९ नाल भरुवा बन्दुक बरामद भएको छ । त्यसैगरी रोल्पाबाट ८, रुकुमबाट ५, दाङबाट ९०, कपिलवस्तुबाट ६, गुल्मीबाट ५, अर्घाखाँचीबाट दुई नाल, नवलपरासीबाट पनि एक नाल भरुवा बन्दुक बरामद गरिएको विवरणमा उल्लेख छ । त्यस्तै, रूपन्देहीबाट १ थान रिभल्वर र एक थान नक्कली रिभल्वर बरामद भएको छ । कपिलवस्तुबाट एक थान पेस्तोल तथा बर्दियाबाट एक थान पेस्तोल बरामद भएको प्रहरी विवरणमा उल्लेख छ । साउनमा प्रहरीले ४ राउण्ड गोली, ४५ थान छर्रा, ३ सय ५० ग्राम बारुद र क्याप १२ वटा बरामद गरेको छ ।
भदौ महिनामा पनि अवैध हतियार बरामद हुने क्रम रोकिएको छैन । प्रहरीको विवरणअनुसार भदौमा पनि भरुवा बन्दुकका साथै पेस्तोल, रिभल्वर, गोली, छर्रा र बारुद बरामद गरिएको छ । भदौं महिनामा १ सय २७ थान भरुवा बन्दुक, सोमा लाग्ने ४५ थान नाल र २ थान पेस्तोल बरामद भएको छ ।
भदौमा दाङ्गबाट ६८ थान, प्युठानबाट २४ नाल भरुवा बन्दुक बरामद भएको छ भने रोल्पाबाट ८, कपिलवस्तुबाट ५, गुल्मीबाट ११, रुकुमबाट ८, रोल्पाबाट ७ र बाँकेबाट २ थान भरुवा बन्दुक बरामद भएको विवरणमा उल्लेख छ । भदौमा रूपन्देहीबाट एक थान कटुवा पेस्तोल, बर्दियाबाट एक थान पेस्तोल प्रहरीले बरामद गरेको छ ।
दुई महिनाको प्रहरी विवरणले लुम्बिनीका पहाडी तथा ग्रामीण जिल्लामा भरुवा बन्दुकको प्रयोग तथा अवैध भण्डारणको समस्या उल्लेख्य रहेको देखाउँछ । विशेषगरी प्युठान, रोल्पा, रुकुम, दाङ, गुल्मी र अर्घाखाँचीमा भरुवा बन्दुक बरामद भएका छन् ।
