भारतीय सीमामा प्रहरीको मुठभेड, एक जनालाई लाग्यो गोली

चोरीका मोटरसाइकलसहित नेपाल पस्न खोज्ने गिरोहलाई गोली हानेको प्रहरी दावी

भारतको रुपैडिहा क्षेत्रमा चोरीका मोटरसाइकलसहित नेपालतर्फ आउन खोजेको आरोपमा प्रहरीले एक जनालाई गोली हानी पक्राउ गरेको जनाएको छ । बहराइचको रुपैडिहा थाना क्षेत्रस्थित रञ्जितबोझा जंगलमा मंगलवार मध्यराततिर भएको मुठभेडमा अब्दुल सलाम घाइते भएका हुन् । उनका दुई जना साथी भने अँध्यारो र जंगलको फाइदा उठाउँदै फरार भएका छन् ।

भारतीय प्रहरीका अनुसार, घाइते अब्दुलको दाहिने खुट्टामा गोली लागेको छ । उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको छ । घटनास्थलबाट एउटा पेस्तोल, एक राउण्ड खोका कारतुस, एक राउण्ड जिउँदो कारतुस र नम्बर प्लेट नभएको चोरीको पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

बहराइचका प्रहरी अधीक्षक विश्वजीत श्रीवास्तवले सवारीसाधन चोरीमा संलग्न व्यक्तिविरुद्ध कारबाही गर्न प्रहरी टोली परिचालन गरेका थिए । सोही अभियानका क्रममा सेप्टेम्बर २२ र २३ को मध्यरात रुपैडिहा प्रहरी टोली आईसीपी मोडबाट पचपोखरी जाने सडकमा खटिएको थियो ।

त्यसैक्रममा प्रहरीलाई रञ्जितबोझा जंगलमा चोरीका मोटरसाइकलसहित केही संदिग्ध व्यक्ति रहेको सूचना प्राप्त भयो। चोरीका मोटरसाइकल बिक्री गर्ने उद्देश्यले नेपाल लैजाने तयारी भइरहेको सूचना पाएपछि प्रहरी टोली जंगलतर्फ गएको थियो ।

‘प्रहरीले सूचनामा उल्लेख गरिएको स्थानमा खोजतलास गरिरहेका बेला दुईवटा मोटरसाइकलमा सवार तीन जना व्यक्ति आउँदै गरेको देखेपछि रोक्ने प्रयास गरेको थियो,’ अप्रेशनमा सहभागी प्रहरीले दैनिक नेपालगन्जसँग भने, ‘आफूहरू घेरिएको महसुस गरेपछि उनीहरूले प्रहरी टोलीमाथि ज्यान मार्ने उद्देश्यले गोली चलाउँदै जंगलतर्फ भाग्न खोजेकाले प्रहरीले आत्मरक्षाका लागि जवाफी गोली चलाएको थियो ।’ प्रहरीको गोली लागेर एक जना घाइते भई ढलेपछि उनलाई नियन्त्रणमा लिइएको र उनका अन्य दुई साथी भने जंगल र अँध्यारोको आडमा भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको पहिचान भारतको बहराइच जिल्लास्थित रुपैडिहा थाना क्षेत्रको सीतापुरवा सहजना निवासी बाबु उर्फ जलील खानका छोरा अब्दुल उर्फ अब्दुल सलामका रूपमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीविरुद्ध यसअघि पनि विभिन्न आपराधिक मुद्दा दर्ता भएका छन् । उनको आपराधिक पृष्ठभूमिबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।

फरार भएका अन्य दुई जनाको खोजीमा प्रहरीले जंगल क्षेत्रमा व्यापक खोजतलास गरिरहेको जनाएको छ । घटनाको जानकारी पाएपछि बहराइचका प्रहरी अधीक्षक विश्वजीत श्रीवास्तवसमेत घटनास्थल पुगेका थिए । उनले घटनास्थलको निरीक्षण गर्दै मातहतका प्रहरी अधिकारीलाई आवश्यक निर्देशन दिएका छन् ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको भारतीय प्रहरीले जनाएको छ ।

Exit mobile version