बाँकेमा विपद् पूर्वतयारी तीव्र

बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारी र समन्वयका गतिविधि तीव्र पारिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला मनसुन कमाण्ड पोस्टमार्फत पूर्वतयारीका विभिन्न काम भइरहेका बेला बिहीबार जिल्लाका विषयगत निकाय, स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, विपद् क्षेत्रमा क्रियाशील संघसंस्था, सुरक्षा निकाय तथा सञ्चारकर्मीको सहभागितामा पूर्वतयारी तथा समन्वय बैठक सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले मौसम पूर्वानुमान तथा विपद्सम्बन्धी सूचनाको प्रभावकारी प्रचारप्रसार र सतर्कता अपनाउने निर्णय गरेको छ ।

बैठकले बाढी, डुबान, कटान तथा पहिरोको जोखिमयुक्त बस्तीको अवस्था विश्लेषण गरी सुरक्षित आश्रयस्थल र खुला स्थानको व्यवस्थापन गर्न स्थानीय तह तथा विषयगत कार्यालयलाई निर्देशन दिएको छ । सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण तयारी अवस्थामा राख्नसमेत भनिएको छ ।

त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद् प्रतिकार्यका लागि क्युआरटी÷आरआरटी तयारी अवस्थामा राख्ने, रेडक्रससहितका गैरसरकारी संस्थाले उद्धार तथा राहतका काममा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने निर्णय भएको छ ।

बैठकले विद्युत्, खानेपानी र दूरसञ्चारजस्ता अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्न सम्बन्धित निकायलाई जिम्मेवार बन्न तथा मौसम र विपद्सम्बन्धी सतर्कता सूचना प्रचारप्रसारमा सञ्चारमाध्यमलाई सहयोग गर्न आग्रह गरेको छ ।

Exit mobile version