व्यवसायी र पेशाकर्मीलाई खेलमैदानमा प्रतिस्पर्धा गराउने उद्देश्यले नेपालगन्जमा आज शुक्रबारदेखि ‘जुमा बिजनेस एण्ड प्रोफेसनल फुटसल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक जुमा स्पोट्र्स क्लबले जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा हुन लागेको प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा विभिन्न व्यवसाय तथा पेशामा आबद्ध व्यक्तिहरूबीच फुटसल प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेता टिमले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यवसायी तथा पेशाकर्मीलाई खेलकुदमा जोड्दै प्रतियोगितालाई स्थापित गर्ने लक्ष्यसहित पहिलो चरणको कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष डा. उदयराज अधिकारीले बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी र उद्देश्यबारे जानकारी दिए । उनले व्यवसायी तथा पेशाकर्मीबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध र प्रतिस्पर्धात्मक भावना विकास गर्ने अवसरका रूपमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले खेलकुदले स्वास्थ्यलाई फाइदा पु¥याउनुका साथै खेल क्षेत्रको प्रवद्र्धनमा पनि योगदान गर्ने बताए । ‘खेलकुद स्वास्थ्यका लागि फाइदाजनक छ, खेलकुदबाट व्यवसायीहरू स्वस्थ हुने र खेल प्रवद्र्धनमा पनि टेवा पुग्नेछ,’ उनले भने ।
