नेपालगन्जमा बर्माको प्यानल विजयी
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बाँकेका आठवटै स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन भएका छन् । अधिवेशनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व चयन भएको छ भने केही पालिकामा अघिल्लो अधिवेशनकै नेतृत्व दोहोरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको नगर सभापतिमा धनराज बर्मा निर्वाचित भएका छन् । उनले विनोद रिजाललाई २४६ मतका विरुद्ध २८४ मत ल्याउँदै पराजित गरे । बर्मासँगै उनको प्यानलका सबै उम्मेदवार पनि विजयी भएका छन् ।
बर्माको प्यानलबाट खुला उपसभापतिमा सरद राज अधिकारी र महिला उपसभापतिमा पूर्ण कुमारी थापा (पूर्णिमा) निर्वाचित भएका छन् । सचिवमा सुर्य प्रसाद धिताल र सहसचिवमा विकास शाह विजयी भएका छन् ।
नगर कार्यसमितिको युवा सदस्यमा अन्जली सिंह चौहान र मो काशिम शेष निर्वाचित भएका छन् । युवा महिला सदस्यमा पुनम सिंह ठकुरी विजयी भएकी छन् । दलित सदस्यमा अजय कोरी र सुनिता कोरी निर्वाचित भएका छन् । जिल्ला सदस्यमा केशु कुमार पोख्रेल, राकेश कुमार खत्री र शालिकराम सुवेदी निर्वाचित भएका छन् ।
नगर सभापतिका प्रतिस्पर्धी रिजालले यसअघि पनि नेतृत्वका लागि दावेदारी गरेका थिए । १४ औं महाधिवेशनमा उनी प्रशान्त विष्टसँग पराजित भएका थिए । यसपटक रिजालको प्रतिस्पर्धामा विष्टले बर्मालाई अघि सारेका थिए ।
खजुरा गाउँपालिकामा महेन्द्र मल्ल सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको पालिका अधिवेशनले मल्ललाई सभापतिमा निर्विरोध चयन गरेको हो । गाउँ कार्यसमितिका पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।
खजुरामा उपसभापतिमा मनविर क्षेत्री र मन्जु मल्ल चयन भएका छन् । सचिवमा वारिस खा चयन भएका छन् । उनीहरूसहित गाउँ कार्यसमितिको पुरै टिम निर्विरोध निर्वाचित भएको हो ।
कोहलपुर नगरपालिकामा भने बीरेन्द्र शाह पुनः सभापतिमा निर्वाचित भएका छन् । १४ औं महाधिवेशनमा पनि नगर सभापति बनेका शाहले यसपटक २ सय ४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी चिन्तामणि धितालले २१८ मत पाए ।
कोहलपुरमा सहसचिवबाहेक संस्थापन पक्षका सम्पूर्ण पदाधिकारी निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् । उपसभापति खुलातर्फ भरत शर्मालाई पराजित गर्दै दिपेन्द्र चौधरी निर्वाचित भएका छन् । महिला उपसभापतिमा सबिता चौधरीलाई पराजित गर्दै शुभद्रा शर्मा विजयी भएकी छन् ।
सचिव पदमा दिपेन्द्र कडायतलाई पराजित गर्दै रबिन शर्मा निर्वाचित भए । सहसचिवमा राम बहादुर ओलीलाई पराजित गरेर ओमजंग शाह निर्वाचित भएका छन् । ओली संस्थापन समूहका हुन् ।
राप्ती सोनारी गाउँपालिकाको सभापतिमा पनि अघिल्लो अधिवेशनकै नेतृत्व दोहोरिएको छ । भिमबहादुर रानाक्षेत्री पुनः सभापतिमा निर्वाचित भएका छन् । राप्ती सोनारी–२ मदुईमा बुधबार सम्पन्न १५ औं महाधिवेशनअन्तर्गतको निर्वाचनबाट कांग्रेस संस्थापन इतर पक्षका रानाक्षेत्रीको पुरै प्यानल निर्वाचित भएको हो । रानाक्षेत्री यसअघि १४ औं महाधिवेशनमा पनि राप्ती सोनारी गाउँपालिका सभापतिमा निर्वाचित भएका थिए ।
बैजनाथ गाउँपालिकामा पनि देव बहादुर केसी सभापतिमा पुनः निर्वाचित भएका छन् । बिहिबार भएको पालिका अधिवेशनले केसीलाई गाउँपालिका सभापतिमा निर्वाचित गरेको हो । गाउँ कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्य पनि चयन भएका छन् ।
बैजनाथमा उपसभापतिमा अमर सिंह बुढा र महिला उपसभापतिमा प्रेमा रावल निर्वाचित भएका छन् । सचिवमा सुदिप सेढाई र सहसचिवमा मनोज कुमार थारू चयन भएका छन् । पालिका सदस्य युवातर्फ कमल चौधरी र ममता शाही तथा युवा महिलातर्फ कल्पना रोकाय निर्वाचित भएका छन् । जिल्ला कार्यसमिति सदस्यमा कपिल जंग शाह र कोपिला शर्मा निर्वाचित भएका छन् ।
डुडुवा गाउँपालिकामा विजय यादवले सभापतिमा पुनः निरन्तरता पाएका छन् । १५ औं महाधिवेशनअन्तर्गत भएको पालिका अधिवेशनबाट यादव सभापतिमा दोहोरिएका हुन् । नरैनापुरमा पनि मेराज अहमद खाँनै पालिका नेतृत्वमा दोहोरिएको जिल्ला पार्टी उपसभापति गोपाल अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार, जानकारीमा जगदम्बा पाठक र अजयकुमार बर्माबीच प्रतिष्पर्धा भएको छ । ‘विहीवार भएको मतदानको नतिजा आजै रातीसम्म आइपुग्छ,’ अधिकारीले विहीवार अबेर साँझ दैनिक नेपालगन्जसँग भने ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत देशभर गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि अधिवेशन भइरहेको छ । सोही क्रममा बाँकेका आठवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको हो ।
