निरन्तर भइरहेको भारी वर्षाका कारण सम्भावित बाढी, डुबान तथा वर्षाजन्य विपद्बाट पशुपन्छीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न खजुरा गाउँपालिकाले पशुपन्छी पालक कृषकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
गाउँपालिकाले असोज १२ गतेसम्म जारी रहनसक्ने मौसमविद्को अनुमान रहेको भन्दै पशुपन्छीलाई सुरक्षित, सुख्खा र पानी नपस्ने स्थानमा राख्न आग्रह गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेले सूचना जारी गरी बाढी तथा डुबानको जोखिम भएका स्थानमा रहेका पशुपन्छीलाई समयमै सुरक्षित र उच्च स्थानमा सार्न, गोठ तथा खोरको अवस्था जाँच गरी पानीको उचित निकासको व्यवस्था गर्न तथा पर्याप्त सुख्खा घाँस, दाना, पराल र स्वच्छ खानेपानी सुरक्षित रूपमा भण्डारण गर्न अनुरोध गरेका हुन् ।
त्यस्तै दूषित पानी तथा भिजेको वा कुहिएको दाना नखुवाउन, विद्युतीय तार तथा उपकरणबाट पशुपन्छीलाई टाढा राख्न र बिरामी वा असामान्य अवस्थामा देखिएका पशुपन्छीलाई छुट्टै राखी तत्काल पशु सेवा शाखा वा केन्द्रमा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ । बाढी वा डुबानमा परेका पशुपन्छीको उद्दार गर्दा कृषकले आफ्नो सुरक्षालाई समेत प्राथमिकता दिन आग्रह गरिएको छ ।
