फुटसल : पहिलो दिन तीन टोली विजयी

जुमा स्पोर्टस् क्लबले आयोजना गरेको व्यवसायी तथा पेशाकर्मीबीचको फुटसल प्रतियोगिताको पहिलो दिन नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघ, जुत्ता चप्पल व्यवसायी संघ र अटोमोबाइल एशोसिएसन विजयी भएका छन् ।

शुक्रबार भएका तीन खेलमध्ये किराना तथा खाद्य व्यवसायी संघले सुनचाँदी व्यवसायी संघलाई, जुत्ता चप्पल व्यवसायी संघले निर्माण व्यवसायीलाई पराजित गरे । अन्तिम खेलमा अटोमोबाइल एशोसिएसन र बार एशोसिएसनबीच प्रतिस्पर्धा भएको थियो ।

व्यवसायी र पेशाकर्मीलाई खेलमैदानमा उतार्ने उद्देश्यले नेपालगन्जमा शुक्रबारदेखि ‘जुमा बिजनेस एन्ड प्रोफेसनल फुटसल प्रतियोगिता २०८३’ सुरु भएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित प्रतियोगितामा विभिन्न व्यवसाय तथा पेशामा आबद्ध आठ टोली सहभागी छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघले सुनचाँदी व्यवसायी संघलाई ४–२ गोलले पराजित ग¥यो । किराना तथा खाद्य व्यवसायी संघका आकाश र यदुनाथले दुई–दुई गोल गरे । सुनचाँदी व्यवसायी संघका आकाश र राजले एक–एक गोल फर्काए ।

दोस्रो खेलमा जुत्ता चप्पल व्यवसायी संघले निर्माण व्यवसायीलाई ३–० गोलले हरायो । जुत्ता चप्पल व्यवसायी संघका लागि साहिलले दुई गोल गरे । भरतले एक गोल थपे ।

पहिलो दिनको अन्तिम खेल अटोमोबाइल एशोसिएसन र बार एशोसिएसनबीच भएको थियो । दिनभरको अबिरल वर्षाका कारण मौसम प्रतिकूल भए पनि प्रतियोगिता साँझ अबेर सुरु भएर रातिसम्म चलेको थियो । अन्तिम खेल पनि रोचक बनेको आयोजकले जनाएको छ । जहाँ अटोमोवाइलले गोल वर्षानै गरेको थियो । बारलाई तीन गोलमा सिमित राखेको अटोले १० गोल हानेको थियो । बारका लागि प्रेमले २ र क्षितिजले १ गोल हाने । अटोका लागि ज्ञानमणिले ह्याट्रिक, कुमार र अमृतले २÷२ तथा दीप, हेमन्त र कौशलले १÷१ गोलको योगदान गरे ।

बार एशोसिएसनको नेतृत्व गर्दै मैदानमा उत्रिएका अधिवक्ता नरेन्द्र न्यौपानेले प्रतियोगितामा जितभन्दा सहभागितालाई प्राथमिकता दिएको बताए । ‘हारजीत भन्दापनि हाम्रो सहभागितालाई प्रमुख ठानेका छौं,’ न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ’व्यवसायी र पेशाकर्मीबीच बेलाबेलामा यसखालका अवसर सिर्जना गरिनु उत्तम हुन्छ ।’

आयोजक जुमा स्पोर्टस् क्लबले पनि व्यवसायी तथा पेशाकर्मीबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध विस्तारसँगै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउने लक्ष्य लिएको छ । क्लबका अध्यक्ष डा. उदयराज अधिकारीले यही उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष अधिकारीका अनुसार, विभिन्न व्यवसाय र पेशामा संलग्न व्यक्तिलाई एउटै खेलमैदानमा ल्याएर आपसी सम्बन्धलाई थप बलियो बनाउने अवसरका रूपमा प्रतियोगितालाई अघि बढाइएको हो । व्यवसायी तथा पेशाकर्मीलाई खेलकुदसँग जोड्दै प्रतियोगितालाई आगामी दिनमा स्थापित गर्ने लक्ष्यसमेत क्लबले लिएको छ ।

प्रतियोगिताको विजेता टोलीले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता टोलीले ११ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी ओलीले गरे । जुमा स्पोर्टस् क्लबका अध्यक्ष डा. उदयराज अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले खेलकुदले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै खेल क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताए ।

’खेलकुद स्वास्थ्यका लागि फाइदाजनक छ, खेलकुदबाट व्यवसायीहरू स्वस्थ हुने र खेल प्रवद्र्धनमा पनि टेवा पुग्नेछ,’ ओलीले भने ।

उद्घाटन कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष भीम रानाभाटले जुमा स्पोर्टस् क्लब आफ्नो स्थापनाको उद्देश्यअनुसार निरन्तर अघि बढिरहेको बताए । खेलकुदलाई व्यवसायी तथा पेशाकर्मीको दैनिकीसँग जोड्ने प्रयास पनि त्यसैको निरन्तरता भएको उनको भनाइ छ ।

Exit mobile version