मिलापत्रबाटै विवाद समाधान

प्रहरीमा आएका घरेलु हिंसासम्बन्धी उजुरीमध्ये अधिकांशलाई मिलापत्र का माध्यमबाट टुंग्याउने गरेको छ । मिलापत्र नभएका उजुरीहरू मुद्दाका रूपमा अदालत पठाइने गरेको प्रहरीले जनाएको छ ।

घरेलु हिंसाका घटनामा सामान्यतया घरपरिवारभित्र हुने विवाद, झै–झगडा तथा अन्य किसिमका हिंसासम्बन्धी गुनासो प्रहरीसम्म पुग्ने गरेका छन् ।

बाँके प्रहरीले यस्ता उजुरीमा पीडितको अवस्था र घटनाको प्रकृति हेरी मिलापत्रको प्रक्रिया अघि बढाउने वा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने गर्दै आएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, घरेलु हिंसाका साउनमा ६३ र भदौमा ४५ गरी १ सय ८ वटा उजुरी परेका थिए । साउन र भदौ गरी दुई महिनामा परेका उजुरी मध्ये १ सय ४ वटामा मिलापत्र भएको छ ।

साउन महिनामा घरेलु हिंसातर्फ ६३ वटा उजुरी परेकोमा ६१ वटा मिलापत्र बाट समाधान गरिएको थियो । त्यस्तै, भदौमा परेका ४५ मध्ये ४३ वटामा मिलापत्रका माध्यमबाट विवाद समाधान भएका थिए ।

त्यस्तै, लुम्बिनी प्रदेशका १२ जिल्लामा भदौ महिनामा घरेलु हिंसासम्बन्धी २ सय ६१ वटा उजुरी परेको प्रहरी तथ्यांकले देखाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार उजुरीमध्ये सबैभन्दा ठूलो हिस्सा कुटपिटका घटना रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयको भदौ महिनाको तथ्यांकअनुसार घरेलु हिंसाको प्रकृतिअनुसार कुटपिटका १ सय ६१ वटा उजुरी परेका छन् । त्यस्तै गालीगलौज तथा झै–झगडाका ९७ वटा र आर्थिक हिंसासम्बन्धी तीन वटा उजुरी दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरीका अनुसार, घरेलु हिंसासम्बन्धी उजुरीमध्ये १ सय १६ वटा मिलापत्रबाट टुंग्याइएको छ ।

त्यस्तै २३ वटा उजुरी अदालत पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी २२ वटा उजुरी प्रक्रियामा रहेका छन् । यसरी हेर्दा कुल २ सय ६१ उजुरीमध्ये १ सय ३९ वटा उजुरी मिलापत्र वा अदालत पठाउने प्रक्रियामा पुगेका छन् भने २२ वटा अझै प्रक्रियामा रहेका छन् ।

Exit mobile version