एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

कर्जा लगानी ४३ करोड ८२ लाख, घर कर्जामा ६३ प्रतिशतभन्दा बढी

नेपालगन्जस्थित वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ८२ लाख ६५ हजार ८४२ रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

संस्थाका प्रवन्धक थानिश्वर पाण्डेका अनुसार, यो वर्ष संस्थाको कुल कारोबार ४ अर्ब रुपैयाँ पुगेको हो । १० करोड ६१ लाख १७ हजार २०० रुपैयाँ चुक्ता शेयरपुँजी रहेको संस्थाको बचत संकलन ४३ करोड ८० लाख ७४ हजार ६७१ रुपैयाँ पुगेको छ ।

संस्थाको कुल सम्पत्ति करिब ६० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्मको विवरणअनुसार संस्थाले ४३ करोड ८२ लाख ६५ हजार ८४२ रुपैयाँ कर्जा लगानी गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ को असार मसान्तमा संस्थाको कुल कर्जा लगानी ४५ करोड ३८ लाख ५० हजार १५० रुपैयाँ थियो । त्यसको तुलनामा यस वर्ष कर्जा लगानी करिब १ करोड ५५ लाख रुपैयाँले घटेको छ ।

कर्जा लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा घर कर्जाले ओगटेको छ । यस वर्ष घर कर्जामा २७ करोड ८९ लाख १० हजार ८४० रुपैयाँ लगानी भएको छ । यो कुल कर्जाको ६३.६४ प्रतिशत हो । अघिल्लो वर्ष घर कर्जामा २८ करोड ५७ लाख ६३ हजार २०१ रुपैयाँ लगानी थियो । त्यतिबेला यसको हिस्सा ६२.९६ प्रतिशत थियो ।

व्यापार कर्जा संस्थाको दोस्रो ठूलो कर्जा क्षेत्र बनेको छ । अघिल्लो आर्थिक वर्षमा व्यापार कर्जामा १२ करोड ८७ लाख ८२ हजार १०१ रुपैयाँ लगानी भएको थियो । यस वर्ष उक्त रकम घटेर १२ करोड ४ लाख ६३ हजार २२२ रुपैयाँ पुगेको छ । कुल कर्जामा व्यापार कर्जाको हिस्सा २७.४९ प्रतिशत छ । अघिल्लो वर्ष यो २८.३८ प्रतिशत थियो ।

व्यक्तिगत कर्जामा भने यस वर्ष वृद्धि भएको छ । अघिल्लो वर्ष १ करोड १८ लाख ५९ हजार ९१३ रुपैयाँ रहेको व्यक्तिगत कर्जा यस वर्ष बढेर १ करोड ५४ लाख ७६ हजार ४८४ रुपैयाँ पुगेको छ । कुल कर्जामा यसको हिस्सा ३.५३ प्रतिशत रहेको छ ।

विशेष कर्जातर्फ भने लगानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ६२ लाख ६ हजार ७१२ रुपैयाँ रहेको विशेष कर्जा यस वर्ष १ करोड १८ लाख ६४ हजार ६६० रुपैयाँमा सीमित भएको छ । कुल कर्जामा यसको हिस्सा २.७१ प्रतिशत रहेको छ ।

आवधिक धितो कर्जामा यस वर्ष ८७ लाख ८० हजार २५० रुपैयाँ लगानी भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ८४ लाख ६० हजार रुपैयाँ थियो । कुल कर्जामा आवधिक धितो कर्जाको हिस्सा २ प्रतिशत पुगेको छ ।

हायर पर्चेज कर्जामा भने अघिल्लो वर्षको तुलनामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २५ लाख ५२ हजार २०२ रुपैयाँ रहेको यस्तो कर्जा यस वर्ष घटेर १९ लाख २५ हजार ९९८ रुपैयाँमा झरेको छ । कुल कर्जामा यसको हिस्सा ०.४४ प्रतिशत छ ।

कृषि क्षेत्रमा संस्थाको लगानी अझै न्यून देखिएको छ । अघिल्लो वर्ष २ लाख २६ हजार ११ रुपैयाँ रहेको कृषि कर्जा यस वर्ष बढेर ८ लाख ४४ हजार ३७८ रुपैयाँ पुगेको छ । कुल कर्जामा कृषि कर्जाको हिस्सा ०.१९ प्रतिशत छ । शैक्षिक कर्जामा भने दुवै आर्थिक वर्ष संस्थाले कुनै लगानी गरेको छैन ।

संस्थाका प्रबन्धक पाण्डेका अनुसार, पछिल्लो आर्थिक वर्षमा संस्थाको कारोबार ४ अर्ब रुपैयाँ पुगेको हो । उनका अनुसार, शेयरपुँजी १० करोड ६१ लाख रुपैयाँभन्दा बढी छ । बचत र कर्जा लगानी पनि ४३ करोड रुपैयाँभन्दा माथि पुगेको छ । संस्थाको वासलात करिब ६० करोड रुपैयाँको रहेको उनले बताए ।

पाण्डेका अनुसार, वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल २ हजार ३३५ जना सदस्य छन् । संस्थामा २३ जना कर्मचारी कार्यरत छन् । बाँके जिल्ला कार्यक्षेत्र रहेको संस्थाको स्थापना २०६७ साउन ११ गते भएको हो ।

संस्थाको चुक्ता शेयरपुँजी १० करोड ६१ लाख १७ हजार २०० रुपैयाँ छ । बचत संकलन ४३ करोड ८० लाख ७४ हजार ६७१ रुपैयाँ रहेको छ । कुल ऋण लगानी ४३ करोड ८२ लाख ६५ हजार ८४२ रुपैयाँ पुगेको छ । जगेडा कोषमा ३ करोड १४ लाख १६ हजार ९६३ रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ति ५९ करोड ९४ लाख १९ हजार ७८२ रुपैयाँ रहेको छ । संस्थाको नाममा ०–१–७ कट्ठा जग्गा रहेको छ ।

‘संस्थाले व्यापार, घरजग्गा, व्यक्तिगत, विशेष, कृषि, शैक्षिक, हायर पर्चेज र आवधिक धितो कर्जालाई ऋण लगानीका प्रमुख क्षेत्र बनाएको छ,’ प्रवन्धक पाण्डेले दैनिक नेपालगन्जसँग भने ।

यसैबीच, वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १७औं वार्षिक साधारण सभा आयोजना गरेको छ । संस्थाका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको साधारण सभाका अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा सदस्यलाई सम्मान गरिएको छ ।

सामाजिक उत्तरदायित्वमा विशेष योगदान गरिरहेको संस्थाले निलसागरलाई २५ हजार रुपैयाँ सहयोग पनि गरेको प्रवन्धक पाण्डेयले बताए । त्यस्तै, १२ पास सदस्यका छोराछोरीलाई नगदसहित गरिएको छ । विभिन्न विधामा १२ जनालाई पनि सम्मान गरिएको प्रबन्धक पाण्डेले बताए ।

विभिन्न विधामा सम्मानित हुनेमा जस्पाल सिंह, ज्येष्ठ सदस्य सनत कुमार शर्मा, पूजा योगी, नीरज थारु, काली पुन, खगीसरा पुन मगर, गोमती धोबी र आनन्द सिंह छन् । धनमाया लुइँटेललाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ ।

साधारण सभामा संस्थाका आगामी कार्यक्रम र रणनीतिबारे अध्यक्ष सञ्जय थापाले प्रस्तुतिकरण दिएका थिए । उनले संस्थाको वित्तीय अवस्था, ऋण लगानीका क्षेत्र र आगामी योजनाबारे जानकारी गराएका थिए । ‘विभिन्न कोषमा ५ करोड रकम मौज्दात छ,’ शेयर र कोषले गर्दा संस्था बलियो हुँदै गएको जानकारी दिंदै अध्यक्ष थापाले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी ओलीले सहकारीको १७औं वार्षिक साधारण सभाको उद्घाटन गरे । कार्यक्रममा नवनिर्वाचित संघका अध्यक्ष ओलीसँगै, वरिष्ठ उपाध्यक्ष कमल कार्की र उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष ओली, संस्थाका पूर्वअध्यक्ष श्यामकुमार केसी, सल्लाहकार प्रहलाद कार्की र अधिवक्ता इश्वरी ज्ञवालीले बोलेका थिए ।

Exit mobile version