समृद्ध नेपालगन्जबारे बहस

पश्चिम नेपालको पुरानो व्यापारिक केन्द्र नेपालगन्जलाई पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्य र खेलकुदको बलियो हबका रूपमा विकास गर्न दीर्घकालीन गुरुयोजनासँगै त्यसलाई कार्यान्वयन गर्न सक्ने दूरदर्शी नेतृत्व आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

संघीयता कार्यान्वयनपछि अधिकार र बजेटको विकेन्द्रीकरणका कारण नेपालगन्ज केही पछाडि परेको महसुस भएको उनीहरूको भनाइ छ । सहरको विकासका लागि राजनीतिक नेतृत्व, निजी क्षेत्र, नागरिक समाज र सबै सरोकारवाला एकै ठाउँमा उभिएर साझा योजना बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

शनिवार कालपृष्ठ दैनिकको आफ्नो २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘नेपालगन्जको समृद्धिका सम्भावनाहरू’ विषयक अन्तरक्रियामा सहभागी वक्ताले नेपालगन्जका सम्भावना धेरै भए पनि योजनाको प्रभावकारी कार्यान्वयन चुनौतीका रूपमा रहेको बताएका हुन् । उनीहरूले सुशासन, सहरी विकास, पर्यटन प्रवद्र्धन, खेलकुद र आर्थिक गतिविधिलाई एउटै योजनामा जोडेर अघि बढाउनुपर्ने धारणा राखे ।

कालपृष्ठका संस्थापक हेमन्त कर्माचार्यले नेपालगन्जलाई चलायमान बनाउने विषयलाई आगामी दिनमा पनि प्राथमिकतामा राखिने बताए । समाजको समृद्धि र सहरको आर्थिक विकाससँग जोडिएका विषयलाई कालपृष्ठले निरन्तर उठाउने उनले बताए ।

‘नेपालगन्जलाई चलायमान बनाउँदै समाजको समृद्धिका विषयमा कालपृष्ठले प्राथमिकता दिएर काम गर्नेछ,’ कार्यक्रमको अध्यक्षता गरेका कर्माचार्यले भने ।

कार्यक्रममा नेपालगन्जको समृद्धिका चुनौती र सम्भावनाबारे राजनीतिज्ञ, पत्रकार, व्यवसायी तथा सामाजिक क्षेत्रका प्रतिनिधिले धारणा राखेको पत्रिकाका सम्पादक कमल खत्रीले बताए । कालपृष्ठको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले सहरको समृद्धिका लागि साझा दृष्टिकोण र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

Exit mobile version