दैनिक नेपालगन्ज
बाँकेमा पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र व्यवसायीबीच सहकार्य बढाउने उद्देश्यले सक्रिय दुई संस्था नेपालगन्ज पर्यटन परिषद् र पर्यटन प्रवर्द्धन मञ्चबीच औपचारिक एकता भएको छ । एकतासँगै जिल्लाको पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रयास थालिएको हो ।
बाँके पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आइतवार परिषद्को पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनमा उक्त घोषणा गरेका हुन् । अध्यक्ष श्रेष्ठका अनुसार मञ्चले कोभिड–१९ को जर्जर अवस्थासहित पछिल्लो झण्डै ६ वर्ष बाँकेका पर्यटन व्यवसायीलाई एउटै थलोमा जोडेर पर्यटन प्रवद्र्धनका गतिविधि गर्दै आएको थियो । यही अनुभव र संरचनालाई नेपालगन्ज पर्यटन परिषद्सँग जोडेर आगामी दिनमा थप बलियो बनाउने उद्देश्यले एकता गरिएको उनले बताए ।
‘आजदेखि नेपालगन्ज पर्यटन परिषद्सँग एकता गर्दै यसलाई थप बलियो बनाउने उद्देश्यले विधिवत् रूपमा एकता गरिएको छ,’ श्रेष्ठले मञ्चबाट घोषणा गर्दै भने ।
पर्यटन प्रवद्र्धन मञ्चमा नाटा बाँके च्याप्टर, हान बाँके, होटल व्यवसायी संघ बाँके, एयरलाइन्स एसोसियसन, होमस्टे बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघ, पर्यटन क्षेत्रका विज्ञ र सञ्चारकर्मीसमेत आबद्ध थिए । श्रेष्ठका अनुसार, विभिन्न क्षेत्रका पर्यटन व्यवसायी र सरोकारवालालाई एउटै संस्थागत थलोमा जोडेर पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन गर्दै आएको मञ्च अब नेपालगन्ज पर्यटन परिषद्सँग एकीकृत भएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले बाँकेलाई भविष्यमा देशकै पर्यटन हबका रूपमा विकास गर्न एकताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार, पछिल्ला छ–सात वर्षमा जिल्लामा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित दर्जनौं कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन् ।
‘विगत छ–सात वर्ष बाँके जिल्लामा पर्यटन प्रवद्र्धनका दर्जनौं कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएका छन्,’ उनले कार्यक्रममा भने, ‘भोलिका दिनमा सौराहा चितवन, पोखरा र काठमाडौंका पर्यटन क्षेत्रका व्यवसायीहरु एकजुट भएर आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनमा हातेमालो गर्दै प्रचारप्रसारमा एकताबद्ध भएर हिँड्ने गर्छन् । हामीले पनि आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सबैलाई एकजुट बनाउन प्रयास गर्नेछौं ।’
उनले बाँकेको पर्यटन क्षेत्रलाई अघि बढाउन व्यवसायी, पर्यटनसँग सम्बन्धित संस्था र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । पर्यटन व्यवसायीबीचको एकता र सहकार्यले जिल्लामा रहेका पर्यटकीय सम्भावनालाई थप प्रचारमा ल्याउन सहयोग पुग्ने उनको भनाइ छ ।
एकतापछि बाँकेमा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा संस्थालाई थप संगठित गर्दै जिल्लाको पर्यटन प्रवद्र्धनलाई साझा अभियानका रूपमा अघि बढाउने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठले सौराहा, चितवन, पोखरा र काठमाडौंका पर्यटन व्यवसायीले आफ्नो क्षेत्रको प्रवद्र्धनका लागि सामूहिक रूपमा काम गर्दै आएको उदाहरणबाट बाँकेले पनि सिक्नुपर्ने बताए । उनले नेपालगन्जमा पर्यटनका प्रभावकारी गतिविधिको अभियान चलाएका नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई त्यस अवसरमा खुलेर प्रशंसा पनि गरे ।
तदर्थ समितिका अध्यक्ष केशव न्यौपानेको अध्यक्षतामा भएको नेपालगन्ज पर्यटन परिषद्को प्रथम अधिवेशनमा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्री प्रमुख अतिथि थिए ।
