बाढी–पहिरोमा नेपाली सेनाको सक्रियता

जोखिममा परेका बस्तीको उद्धारदेखि सडक सुचारुसम्म

अविरल वर्षापछि पर्वतका नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढी, नदी कटान र पहिरोको जोखिम बढेपछि नेपाली सेनाले विपद् प्रतिकार्य तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

असोज ८ गतेदेखि परेको लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा डुबान, नदी कटान तथा पहिरोले बस्ती र सडक प्रभावित भएका छन्। जोखिम बढेपछि नेपाली सेना श्री नं. २३ बाहिनी अड्डाअन्तर्गत श्री नयाँ रणभीम गुल्मबाट फौज परिचालन गरिएको हो।

जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको सतह बढेर नदी कटान तथा डुबानको जोखिम बढेपछि करिब १०० घरधुरी रहेको बस्तीमा नेपाली सेनाले खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो। सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह र स्थानीय बासिन्दासँग समन्वय गरी जोखिममा रहेका परिवारलाई सामुदायिक भवन तथा सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ।

विपद्बाट प्रभावितका लागि अस्थायी आश्रयस्थल निर्माण तथा राहत सामग्री वितरणमा समेत सेनाले सहयोग गरेको छ। यसैगरी, फर्से क्षेत्रमा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याउन समेत नेपाली सेनाको टोली परिचालन भएको थियो।

बाढी, डुबान र पहिरोजस्ता विपद्का समयमा जनधनको सुरक्षा, तत्काल उद्धार तथा अत्यावश्यक पूर्वाधारको शीघ्र पुनः सञ्चालनलाई प्राथमिकतामा राख्दै नेपाली सेना स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र समुदायसँगको समन्वयमा विपद् प्रतिकार्यमा जुटेको छ।

वर्षा निरन्तर भइरहेकाले नदी तथा खोलाको आसपास र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन स्थानीय प्रशासनले आग्रह गरेको छ।

Exit mobile version