महिला उद्यमी संघ नेपाल बाँकेले भोटेकोसी बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ हजार ५ सय ५ रुपैयाँ जम्मा गरेको छ ।
संघका सदस्यहरुले संकलन गरेको रकम कोषमा जम्मा गरी त्यसको भौचर सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई हस्तान्तरण गरिएको हो ।
संघकी अध्यक्ष रेवती सिंहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले बैंकमा रकम जम्मा गरेको भौचर प्रमुख जिल्ला अधिकारी तामाङलाई बुझाएको थियो । टोलीमा अध्यक्ष सिंहसँगै प्रथम उपाध्यक्ष आभा गौतम, महासचिव विन्दु चर्तिमगर र कोषाध्यक्ष कुसुम दुगड सहभागी थिए ।
भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संघले आफ्ना सदस्यहरुबाट रकम संकलन गरेको अध्यक्ष सिंहले बताइन्। विपद्का बेला आफूहरुले पनि आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने भएकाले कोषमा रकम जम्मा गरिएको उनले बताइन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रकमको भौचर हस्तान्तरणपछि महिला उद्यमी संघ नेपाल बाँकेको टोलीले विपद्बाट प्रभावित नागरिकलाई राज्य र विभिन्न संघसंस्थाबाट हुने सहयोगमा आफ्नोतर्फबाट पनि योगदान रहने जनाएको छ ।
