चिन्ताजनक ‘मुटु रोग’

स्वास्थ्य सेवा विभागले २०२५ मा गरेको अध्ययनले नेपालमा हरेक वर्ष १५ हजारभन्दा बढीमा हृदयाघात भएको देखाएको थियो । विभागले यो वर्ष भने उक्त अध्ययन गरेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मुटुरोगबाट वार्षिक ३० हजारको मृत्यु हुन्छ । त्यसमध्ये एकतिहाइ मृतक १३ देखि ४५ वर्ष उमेर समूहका छन् । मुटुरोग विशेषज्ञहरूका अनुसार नेपालमा युवावस्थामै मुटु बिग्रने क्रम बढ्दो छ । विश्व स्वास्थ्य संगठन र मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मुटुरोगका कारण वार्षिक ३० हजारको मृत्यु हुन्छ ।

नेपालको कुल जनसंख्याका १० प्रतिशतमा मुटुको समस्या पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर करिब १ प्रतिशत मानिसमा जन्मजात मुटुरोग लाग्ने गरेको हो । नेपालमा गरिएको विभिन्न अनुसन्धानबाट पनि यो तथ्य पुष्टि भएको छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ ।

मानिसहरूको आनीबानीमा आएको परिवर्तन तथा चिल्लो तथा रसायनयुक्त खानेकुराका कारण मुटुरोगी भनाइ बढेको चिकित्सकहरूको छ । तर नियमित स्वास्थ्य परीक्षण, स्वस्थकर खानेकुराको सेवन तथा दैनिक व्यायामले मुटुरोग कम गर्न सकिने उनीहरूको सुझाव छ । ‘स्वस्थ्कर खाना, व्यायाम र स्वस्थ जीवनशैलीले मुटु सम्बन्धी रोग नियन्त्रण गर्न सकिन्छ’, डा. विकास नेपाल बताउँछन् ।

नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशु सम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको असामयिक मृत्यु भएको देखिएको छ । मुटुरोग लाग्न रोक्नुभन्दा उपचार गर्न निकै खर्चिलो र पूर्वाधार विकास गर्न पनि निकै कठिन छ । तर, हाल देशका प्रायः ठूला निजीस्तरका अस्पतालमा समेत मुटुरोग उपचार सेवा स्थापित र विस्तार हुँदै गएको छ । देशमै विशेषज्ञ चिकित्सक उत्पादन हुने क्रमले पनि यसको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

करिब १ प्रतिशत मानिसमा जन्मजात नै मुटुरोग लाग्ने गर्छ । वयष्कहरूमा हुने मुटुरोगको भने विभिन्न भागमा विभाजन रहेको पाइन्छ । अहिलेको अवस्थामा मुटुरोगमा पनि बाथज्वरो पहिलो समस्याका रूपमा देखापरेको छ । दोस्रो समस्याका रूपमा जन्मजात देखापर्ने मुटुरोग छ । तेस्रो, क्रोनरी हार्ट डिजिज, जसमा मुटुको नली बन्द हुने र पछि गएर मुटुको शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउँछ । त्यसबाहेक पनि अन्य मुटुरोगहरूमा मुटुको मांसपेशीको रोग, उच्च रक्तचापलगायत मुटुका रोगहरू छन् । समग्रमा भन्नुपर्दा उच्च रक्तचाप मुटुको रोग नभए पनि यसलाई क्यार्डियोभास्कुलर डिजिज नै भनिने भएकाले यसलाई मुटुरोग नै मान्ने गरिएको छ ।

रक्तनलीको भित्री भागमा एकप्रकारको बोसो जम्मा भएपछि रक्तनली साँगुरो हुन्छ, जसका कारण मानिसमा रक्तचाप बढ्ने समस्या देखापर्ने गर्छ । उच्च रक्तचापले मुटु तथा रक्तनली दुवैमा प्रभाव पार्ने भएकाले नै यसलाई कार्डियोभास्कुलर डिजिज भनिएको हो । करिब १० प्रतिशत मुटुरोगीमध्ये रक्तचापका बिरामीलाई सामान्य रूपमा औषधिको प्रयोग गर्दा रोग निको हुन सक्छ । सामान्यखालका मुटुरोग पनि औषधिको सेवनपश्चात् नै निको हुने गर्छन् । जन्मजात मुटुरोग लागेका मध्ये करिब ९५ प्रतिशत रोगीको अप्रेसन नै गर्नुपर्ने हुन्छ ।

जीवनशैलीका कारण लाग्ने मुटुरोगमा उच्च रक्तचाप एक हो । बढी मात्रामा चिल्लो तथा बोसो भएको खानेकुरा खानाले उच्च रक्तचाप हुने गर्छ । बढी मात्रामा कार्बोहाइड्रेटयुक्त खानेकुराहरू खानाले पनि मुटुरोगको जोखिम बढ्ने गरेको पाइन्छ । यदि मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा पनि मुटुरोग लाग्ने गर्छ । उच्च रक्तचाप तथा मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा मुटुरोगको जोखिम बढ्छ । शारीरिक व्यायामको कमी, धूमपान, मद्यपानलगायत कारण पनि मुटुरोग लाग्ने गर्छ । बढी तनावपूर्ण जीवनशैलीका कारण पनि मुटुरोग लाग्ने सम्भावना बढ्छ ।

‘पछिल्लो समयमा युवामा पनि मुटुरोग देखिएको छ’, डा. नेपाल भन्छन्, ‘मुटुमा समस्या आउने कारण धुम्रपान, मद्यपान, रहनसहन, सुगर र प्रेसर लगायतका कारण हुन् ।’ उनी मुटु जोगाउन चुरोट, खैनी, गुट्का, माद्यक पदार्थ सेवन नगर्न सुझाव दिन्छन् ।

चिकित्सकहरू भन्छन्, ‘मुटु रोगबाट जोगिन शरीरको तौल अनावश्यक बढ्न दिन हुँदैन, नुन कम खाने, धुम्रपान, मदिरापान गर्नु भएन, हरियो सागपात खानुपर्यो, कम्तिमा दिनमा १ घण्टा हिड्नु पर्दछ ।’

हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ । हाम्रा विभिन्न कारक तत्वहरूले गर्दा मुटुको आर्टरीहरूमा विस्तारै फोहर जम्मा हुँदै जान्छ र आर्टरीहरूमा भित्री भाग साँगुरिदै जान्छ, अनि रक्त प्रवाह कम हुँदै जान्छ र साँगुरिएको ठाउँमा रक्तस्राव भयो भने त्यहाँ रगत जम्न गई आर्टरी पूरै थुनिन सक्दछ । त्यसरी थुनिएको अवस्थामा त्यसले आफूले रगत पुर्याउनु पर्ने मांसपेशीमा रगत पुर्याउन सक्दैन । उक्त मांसपेशीमा रगत नपुगेकाले खाना नपाएर मर्दछ । यो मरेको भागलाई इन्फारक्ट भनिन्छ । मायोकार्डियोल इन्फारक्ट भनेको नै हृदयघात हो ।

सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा बर्सेनि मुटुरोगबाट दुई करोड मानिसको मृत्यु हुन्छ । त्यसमध्ये ६५ लाख मानिस अल्पायुमै मर्छन् । नेपालमा वार्षिक ३० हजार मानिसको मुटुरोगबाट मृत्यु हुन्छ भने त्यसमध्ये एकतिहाई मृत्यु अल्पायुमै हुने गरेको अनुमान छ । जसलाई विश्व स्वास्थ्य संगठनले १३ देखि ४५ वर्ष समूहमा वर्गीकरण गरेको छ । यसबर्ष ‘मुटुलाई धड्कन देऊ’ भन्ने नाराका साथ विश्वभर मुटु दिवस मनाइएको छ । विश्व मुटु महासंघले सन् २०३० सम्ममा मुटुको उपचारको दायरा बढाएर हाल उपचारको दायरामा नआएका ५० करोड मानिसलाई उपचारको दायरामा ल्याउने लक्ष्य राखेको छ ।

Exit mobile version